बाढीपछि उद्धारमा खटिएका सुरक्षाकर्मीलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग

बाढीपछि उद्धारमा खटिएका सुरक्षाकर्मीलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोटेकोशी बाढी प्रभावित रसुवा तथा नुवाकोट जिल्लामा खोज, उद्धार, शव व्यवस्थापन र राहत वितरण कार्यमा अग्रपंक्तिमा खटिएका उद्धारकर्ता एवं स्वयं बाढी प्रभावित भएकाहरूलाई सशस्त्र प्रहरी बल नेपालले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग प्रदान गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालले मनोवेज्ञानिक अध्ययन तथा मनोपरामर्श सेवा इकाइको समन्वयमा विपद्को जोखिमपूर्ण परिस्थितिमा नागरिकको उद्धार र सहयोगमा खटिएका सुरक्षाकर्मी तथा उद्धारकर्ता स्वयंको मानसिक स्वास्थ्य समस्या समाधान गर्ने उद्देश्यका साथ रसुवा र नुवाकोटस्थित सशस्त्र प्रहरी बल नेपालका उद्धारकर्ताहरूसँग अन्तरक्रिया गर्नुका साथै मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श प्रदान गरेको हो ।

टोलीले उद्धारकर्ताहरूसँगै स्थानीय प्रभावित समुदायको वर्तमान मानसिक तथा भावनात्मक स्थिति बुझ्न मनोसामाजिक आवश्यकता पहिचान समेत गरेको छ  । असोज ४ गते मनोविमर्शकर्ता सेजल गेलाल, काउन्सिलिङ साइकोलोजिस्ट करिश्मा काफ्ले र सशस्त्र प्रहरी नायव उपरीक्षक शम्भुविक्रम शाह सहितको टोलीले रसुवा र नुवाकोटस्थित सशस्त्र प्रहरी बल नेपालका कार्यालयहरूमा रहेका उद्धारकर्ता, कारागारमा रहेका कैदीबन्दी, होल्डिङ सेन्टरमा रहेका व्यक्ति तथा बाढी प्रभावित स्थानीय वासिन्दालाई समेत मनोसामाजिक परामर्श प्रदान गरेको छ ।

भदौ १० गतेदेखि हालसम्म बाढी प्रभावित रसुवाको धुन्चे, टिमुरे, स्याफ्रुबेँसी, नुवाकोटको बेत्रावती, त्रिशुली बजार, ढुंगेबजार लगायतका ठाउँहरूमा शव निकाल्ने, घाइतेको उद्धार गर्ने र प्रभावितसम्म राहत पुर्‍याउने कार्यमा सशस्त्र प्रहरी कर्मचारीहरू लगायत अन्य सुरक्षाकर्मीहरू समेत अहोरात्र खटिइरहेका छन् ।

खोज तथा उद्धारमा खटिएका धेरैजसो सुरक्षाकर्मीहरू रसुवा र नुवाकोटका स्थानीय वासिन्दा समेत भएका कारण आफ्नो गाउँ, ठाउँ र समुदायमा भएको घटनाको कारुणिक अनुभव सुनाएका थिए । बाढीमा परी आफ्नै घरपरिवार तथा आफन्तहरू गुमाए पनि ती सुरक्षाकर्मीहरू विपद्मा परेका नागरिकहरूको सेवा र सुरक्षामा दिन रात खटिँदै आएका  छन् ।

उद्धारका क्रममा क्षतविक्षत शव, आफन्तको खोजीमा छटपटाइरहेका परिवारको विचल्ली र कठिन भूगोलमा भोकनिद्रा नभनी निरन्तरको खटाइले समेत भावनात्मक र मानसिक तनावमा समस्या आएको बताइएको छ ।

टोलीले उद्धारकर्ताहरूसँगै खटिएका स्थानीय कर्मचारी तथा सर्वसाधारणहरूसँग समेत प्रत्यक्ष कुराकानी गरी मनोसामाजिक परामर्श सेवा प्रदान गरेको थियो । सो क्षेत्रमा बाढीको प्रत्यक्ष सामना गरेका स्थानीयहरूमा अझै पनि अत्यधिक डर र असुरक्षाको भावना कायमै रहेको पाइएको छ । विशेषगरी फेरि ठूलो पानी पर्ला कि ? पुन: यस्तै बाढी–पहिरो दोहोरिएला कि ? भन्ने चिन्ता स्थानीयमा देखिएको सशस्त्र प्रहरी नायव उपरीक्षक शम्भु विक्रम शाह बताउँछन् ।

विपद्मा परेका नागरिकहरू बचाउन खटिने सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूमा देखिने शारीरिक तथा मानसिक थकान, चिडचिडापन र तनावलाई कम गराउँदै भौतिक पुन:स्थापनाका साथसाथै बाढी प्रभावित सर्वसाधारण र उद्धारकर्ता दुवैका लागि ‘मनोसामाजिक पुन:स्थापना’लाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।