काठमाण्डु – बाढीका कारण क्षतिग्रस्त धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसी सडकखण्डमा असोजभित्र यातायात सञ्चालन गर्ने गरी सरकारले मर्मतलाई तीव्रता दिएको छ ।
गल्छीदेखि नुवाकोटको विदुरसम्मको सडकखण्डको मर्मत गरिसकिएको छ भने त्योबिच (देवीघाट) मा एक्रो ब्रिज समेत जडान गरिसकिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
सडकखण्डको विदुरमा क्षतिग्रस्त बनेको सडकखण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी ट्रयाक खोल्ने काम सुरु गरिसकेको छ । अर्कोतर्फ रसुवाको बेत्रावतीमा आवश्यक बेलीब्रिज जडान गर्न ‘फाउण्डेसन’ निर्माण सुरु भएको छ ।
बेत्रावती–धुन्चे हुँदै स्याफ्रुबेँसीसम्म सडकखण्डमा समस्या छैन । स्याफ्रुबेँसीमा एउटा बेलीब्रिज जडान गर्नुपर्ने देखिएको छ, त्यसका लागि तयारी भइरहेको छ ।
स्याफ्रुबेँसीबाट रसुवागढीतर्फको सडकखण्ड पूर्णरूपमा क्षतिग्रस्त छ । त्यहाँ नयाँ सडक निर्माणका लागि सर्वेक्षण सुरु भइसकेको छ । यस क्षेत्रमा स्थायी सडक समेत निर्माण गर्ने सरकारको तयारी छ ।




प्रतिक्रिया