रुपन्देही – नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार थापाको विकल्प नरहेको बताएकी छन् ।
रिपोटर्स क्लब नेपाल लुम्बिनीले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउँदै आन्तरिक गुट–उपगुटको अन्त्य गरी बलियो, सक्षम र जनतासँग जोडिएको कांग्रेस निर्माण गरिने बताइन् ।
‘कांग्रेसको नेतृत्वमा अहिले गगनको विकल्प छैन । १५औँ महाधिवेशन एकताको महाधिवेशन बन्नुपर्छ । आन्तरिक गुटको अन्त्य गर्दै सबै पक्षलाई समेटेर बलियो र सक्षम कांग्रेस निर्माण गर्नुपर्छ,’ उनले भनिन् ।
पूर्वउपसभामुख समेत रहेकी उनले लामो राजनीतिक संघर्षपछि नेपालमा प्राप्त लोकतन्त्रको संरक्षण र संस्थागत विकासमा कांग्रेसको महत्त्वपूर्ण भूमिका रहेको दाबी गरिन् । मुलुकको समृद्धि र दिगो विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको भन्दै उनले राजनीतिक दलहरू पनि आन्तरिक रूपमा बलियो हुनुपर्नेमा जोड दिइन् ।
जेनजी आन्दोलनपछि बनेको नयाँ राजनीतिक समीकरणले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकार सञ्चालनको जिम्मेवारीमा पुर्याएको बताउँदै उनले वर्तमान सरकार ५ वर्ष टिक्नुपर्ने धारणा राखिन् । तर सरकारका गतिविधि हेर्दा जनताले रास्वपालाई विश्वास गरे पनि मुलुक हाँक्ने नेतृत्वमा अपरिपक्वता देखिएको उनले बताइन् ।




प्रतिक्रिया