काठमाण्डु – निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्ने विषयमा विभिन्न मुलुकमा रहेका नेपाली कूटनीतिक नियोगका प्रमुख तथा महावाणिज्यदूतसँग छलफल गरेको छ ।
आयोगले मंगलबार क्यानडा, ब्राजिल, अमेरिका, बेलायत र अस्ट्रेलियास्थित नेपाली राजदूत तथा महावाणिज्यदूतसँग ‘विदेशमा मतदान’ अर्थात् ‘आउट अफ कन्ट्री भोटिङ’का विषयमा छलफल गरेको हो ।
अमेरिकाका वासिङ्टन डीसी, टेक्सास र न्यूयोर्कमा रहेका नेपालीसम्बन्धी विषयसमेत छलफलमा समेटिएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगको आयोजना तथा नेपाल सरकार, परराष्ट्र मन्त्रालयको सहजीकरणमा भएको छलफलमा सम्बन्धित मुलुकमा रहेका नेपालीको संख्या, मतदाता नामावली संकलन गर्ने सम्भावित तरिका तथा विदेशबाट मतदान गराउने सम्भावित विधिबारे छलफल भएको थियो ।
विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन तथा निर्वाचन सञ्चालनका क्रममा सम्बन्धित नेपाली कूटनीतिक नियोगको भूमिका र जिम्मेवारीका विषयमा पनि छलफल गरिएको आयोगले जनाएको छ ।
कार्यबाहक प्रमुख निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरको अध्यक्षतामा भएको छलफलमा निर्वाचन आयुक्तद्वय गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा तथा आयोगका सचिव कृष्णप्रसाद काप्री सहभागी थिए । कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईले सहजीकरण गरेका थिए ।




प्रतिक्रिया