फ्लाई दुबईले आजदेखि पोखरा-दुबई उडान सुरु गर्दै

फ्लाई दुबईले आजदेखि पोखरा-दुबई उडान सुरु गर्दै

वाटर स्यालुटले स्वागत गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त अरब इमिरेट्स (यूएई)को ध्वजावाहक वायुसेवा कम्पनी फ्लाई दुबईले बुधबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई-पोखरा-दुबई रुटमा नियमित उडान सुरु गर्दैछ।

२०७९ पुस १७ गते देखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको नियमित उडान सुरु गर्न लागे हो ।

अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।

उनका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ। विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिनेछ।

फ्लाई दुबईले दुबई अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–३ बाट पोखराका लागि दैनिक सेवा सञ्चालन गर्नेछ । पहिलो पटक अवतरण गर्ने विमानलाई पोखरा विमानस्थलमा वाटर स्यालुट (पानीको फोहरा)सहित भव्य स्वागत गर्ने कार्यक्रम तय गरिएको छ ।

अध्यागमन, भन्सार, कार्गो लगायतका सबै सेवा प्रवाहका लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताए।

फ्लाई दुबईको विमानबाट पोखरा आउने तथा यहाँबाट दुबई प्रस्थान गर्ने यात्रु र पर्यटकलाई पोखराका पर्यटन तथा व्यवसायीले खादा र मालाले स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन्।

दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको र फ्लाई दुबईले १२० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखरा–दुबई उडान नियमित तथा दीर्घकालीन हुने आशा गरिएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले बताए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म ७३ वटा चार्टर्ड र ७३ वटा नियमित गरी कुल १ सय ४६ वटा अन्तर्राष्ट्रिय उडानहरू भएका छन् ।

चीनको सिचुवानमा लामो समय चार्टर्ड उडान भएको थियो भने ल्हासामा १ वर्षसम्म नियमित उडान गरिएको थियो । अरु केही देशहरुमा चार्टर्ड उडान भएका छन् ।