काठमाण्डु– देशका विभिन्न क्षेत्रमा भारी वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यात्रु तथा चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
महासंघले असोज ८ देखि १२ गतेसम्म विपद्को जोखिम उच्च रहने भन्दै अत्यावश्यक कामबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई अपिल गरेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञान विभागको पूर्वसूचनालाई आधार बनाएर महासंघले सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेको जनाएको छ ।
महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी सूचनामा सार्वजनिक यात्रुवाहक तथा मालवाहक सवारी सञ्चालन गर्नुअघि बाटोको अवस्था, मौसम र सम्भावित जोखिमबारे अनिवार्य जानकारी लिन सम्बन्धित यातायात व्यवसायी तथा चालकलाई निर्देशन दिइएको छ ।
विशेषगरी बाढी, पहिरो तथा सडक अवरोधको जोखिम रहेका क्षेत्रमा यात्रा गर्दा थप सावधानी अपनाउन महासंघले आग्रह गरेको छ । विपद्को समयमा जोखिमपूर्ण सडकमा जबर्जस्ती सवारी सञ्चालन नगर्न र यात्रुको सुरक्षालाई प्राथमिकता दिनसमेत अपिल गरिएको छ ।
महासंघले आपत्कालीन अवस्थामा आवश्यक सूचना तथा सहयोगका लागि विभिन्न हटलाइन नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ । वर्षा तथा बाढीसम्बन्धी अद्यावधिक जानकारीका लागि ११५५ र विपद्मा सहयोग आवश्यक परे ११४९ मा सम्पर्क गर्न सकिने जनाएको छ ।
त्यस्तै, तत्काल प्रहरी सहयोगका लागि नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बल नेपालको १११४ मा सम्पर्क गर्न सकिने महासंघले जनाएको छ ।



प्रतिक्रिया