काठमाण्डु – आगामी असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा, हिमपात र चट्याङ पर्ने सम्भावनालाई दृष्टिगत गर्दै सरकारले असोज ८ र ९ गते विद्यालयहरूमा बिदा दिन अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग एवम् राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानका आधारमा शिक्षा तथा खेलकुद मन्त्रालयले सबै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्र पठाउँदै स्थानीय तहसँगको समन्वयमा आवश्यकतानुसार विद्यालय बिदा गराउन निर्देशन दिएको हो ।
मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा प्रतिकूल मौसमका कारण बाढी, पहिरो, डुबान, नदी कटान तथा सडक अवरोध जस्ता जोखिम सिर्जना हुने भएकाले त्रासभन्दा पनि पूर्वतयारी र सावधानी अपनाउन आग्रह गरिएको छ । सोही आधारमा विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै बिदाको व्यवस्था मिलाउन समन्वय र सहजीकरण गर्न भनिएको छ ।
मन्त्रालयले असोज ९ गतेदेखि ११ गतेसम्म तोकिएका सबै विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायहरूका परीक्षाहरू आवश्यकतानुसार स्थगित गर्नसमेत निर्देशन दिएको छ ।
विपद्को समयमा सुरक्षित रहेका विद्यालय भवनहरूलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नुपर्ने अवस्था आएमा स्थानीय तहलाई सहजीकरण गर्न मन्त्रालयले मातहतका निकायलाई परिपत्र गरेको छ । मन्त्रालयले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानहरूमा जान नदिन र उच्च सतर्कता अपनाउन विशेष अपिल गरेको छ ।





प्रतिक्रिया