प्रधानमन्त्री शाह न्युयोर्कमा, राष्टयसंघीय महासभालाई आज सम्बोधन गर्ने

प्रधानमन्त्री शाह न्युयोर्कमा, राष्टयसंघीय महासभालाई आज सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाह बिहीबार संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दैछन्। अमेरिकाको न्युयोर्कमा जारी महासभामा प्रधानमन्त्री शाहले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ।

राष्ट्रसंघको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहको सम्बोधन बिहीबार स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुने सत्रमा तय गरिएको छ। नेपालमा भने उनको सम्बोधन शुक्रबार मध्यरातपछि पर्नेछ।

परराष्ट्र मन्त्रालयका अनुसार त्यसअघि उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन् ।

महासभाको यस वर्षको उच्चस्तरीय छलफल ‘विश्वास पुनर्स्थापना, रूपान्तरण व्यवस्थापन स् सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ’ भन्ने मूल विषयमा केन्द्रित छ । जलवायु परिवर्तन, विश्वव्यापी द्वन्द्व, कृत्रिम बुद्धिमत्ता तथा बहुपक्षीय संस्थाको सुधारलगायत विषय महासभामा प्रमुख एजेन्डाका रूपमा उठिरहेका छन् ।

प्रधानमन्त्री शाह मंगलबार साँझ कतार एयरवेजको उडानमार्फत न्युयोर्क पुगेका हुन्। प्रधानमन्त्री शाहलाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत शरदराम आर्याल र न्युयोर्कका लागि नेपाली महावाणिज्यदूत दधिराम भण्डारीलगायत अधिकारीले स्वागत गरेका थिए ।

महासभाका विभिन्न सत्र तथा छलफलमा सहभागी हुने उनको कार्यक्रम छ। न्युयोर्क बसाइका क्रममा उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।

यसपटक प्रधानमन्त्री शाहको सम्बोधनमा पछिल्लो समय नेपालमा देखिएको जलवायुजन्य विपद् र त्यसबाट भएको क्षतिलाई प्राथमिकताका साथ उठाउने तयारी गरिएको छ।

भोटेकोसी क्षेत्रमा आएको बाढीबाट भएको क्षति, जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढिरहेको जोखिम र त्यसका लागि अन्तर्राष्ट्रिय सहयोगको विषय नेपालले विश्वमञ्चमा राख्ने तयारी गरेको छ।

नेपालले कम कार्बन उत्सर्जन गर्ने तर जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुकका लागि जलवायु क्षतिपूर्तिको विषय उठाउने तयारी गरेको छ। साथै, जलवायु परिवर्तनका कारण भएको क्षतिका लागि हानि तथा नोक्सानी कोषलाई प्रभावकारी बनाउँदै प्रभावित मुलुकलाई ऋणको थप भार नपर्ने गरी प्रत्यक्ष आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने विषयमा पनि जोड दिइनेछ।

प्रधानमन्त्री शाहको सम्बोधनअघि नै राष्ट्रसंघका महासचिव गुटेरेसले महासभामा नेपाललाई सम्झिएका छन्। मंगलबार महासभालाई सम्बोधन गर्ने क्रममा गुटेरेसले तीन वर्षअघि नेपालको हिमाली क्षेत्रबाट आफूले जलवायु परिवर्तनको जोखिमबारे दिएको चेतावनी स्मरण गरेका हुन्।

हाल अमेरिकामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल विभिन्न कूटनीतिक भेटघाटमा व्यस्त छन्। प्रधानमन्त्री शाहको भ्रमण टोलीमा प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्यलगायत छन्। महासभाका विभिन्न कार्यक्रमपछि प्रधानमन्त्री शाह कतार हुँदै असोज १० गते स्वदेश फर्कने कार्यक्रम छ।