काठमाण्डु – नेपाली कांग्रेसले भारी वर्षाका कारण अधिवेशन प्रक्रियामा कठिनाइ उत्पन्न भइरहेकाले असोज १० गतेका लागि तोकिएको प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको निर्वाचन कार्यक्रम मौसमको अवस्था हेरी सञ्चालन गर्न निर्देशन दिएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन हुँदैछ । त्यसअन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेका छन् भने गाउँ तथा नगर अधिवेशन सम्पन्न हुने क्रम जारी रहेको कांग्रेसले जनाएको छ ।
कांग्रेसका अनुसार पालिका अधिवेशनअन्तर्गत ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।
विभिन्न स्थानमा भइरहेको भारी वर्षाका कारण अधिवेशन प्रक्रियामा कठिनाइ भइरहेको जानकारी निर्वाचन अधिकृतहरूबाट प्राप्त भएको जनाउँदै कांग्रेसले थप केही दिन वर्षा कायम रहने भन्दै मौसम विभागलगायत विभिन्न निकायले जारी गरेका सतर्कतासम्बन्धी सूचनालाई समेत मध्यनजर गरेको जनाएको छ ।
कांग्रेसले मौसम अनुकूल भएका क्षेत्रमा असोज १० गते नै प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको निर्वाचन कार्यक्रम सञ्चालन गर्न भनेको छ । मौसम प्रतिकूल रहेका क्षेत्रमा भने सम्बन्धित जिल्ला तथा क्षेत्रका पार्टी कार्यसमितिसँग समन्वय गरी असोज १३ गतेभित्र निर्वाचन सम्पन्न हुने गरी स्थानीय अवस्थाअनुकूल आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत निर्देशन दिइएको छ ।




प्रतिक्रिया