काठमाण्डु– सरकारले पहिलोपटक दलित समुदायको पहिचानलाई स्पष्ट पार्दै उनीहरूले प्रयोग गर्ने थर तथा उपथरहरूको विस्तृत सूची सार्वजनिक गरेको छ। सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै दलित समुदायको परिभाषासहित पहाडी र मधेशी दलित समुदायअन्तर्गत प्रयोग हुने थरहरूको वर्गीकरण गरेको हो।
राष्ट्रिय दलित आयोगको सिफारिसमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको दलित समुदायको परिभाषा तथा थर सूचीकरणसम्बन्धी विवरण महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो।
राजपत्रमा दलित समुदायलाई मुख्यतः पहाडी दलित र मधेशी दलित गरी दुई समूहमा वर्गीकरण गरिएको छ। त्यसअन्तर्गत विभिन्न समुदाय, उनीहरूले प्रयोग गर्ने थर तथा गैरदलित समुदायसँग समेत मिल्ने थरहरूलाई समेत छुट्टाछुट्टै सूचीबद्ध गरिएको छ।
सरकारले दलित समुदाय भन्नाले विगतमा वर्णाश्रम व्यवस्थाका आधारमा अछुतको व्यवहार गरिएका तथा आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक, शैक्षिक र रोजगारीलगायत राज्यका विभिन्न क्षेत्रमा उत्पीडन, अपमान र बहिष्करणमा पारिएका ऐतिहासिक श्रमजीवी समुदायलाई सम्झनुपर्ने उल्लेख गरेको छ।
पहाडी दलितमा ७ प्रमुख समुदाय
राजपत्रअनुसार पहाडी दलितअन्तर्गत विश्वकर्मा, परियार, मिजार, वादी, गन्धर्व, च्यामे र पोडे गरी सात प्रमुख समुदाय समेटिएका छन्।
विश्वकर्मा समुदायअन्तर्गत कामी, लोहार, सुनार, टमटा, गदाल, वड, बर्देवा, रसाइली, विश्वकर्मा, पोर्तेल र दियालीलगायत ३४८ थर सूचीकृत छन्।
त्यस्तै परियार समुदायमा दमाई, दर्जी, सूचिकार, नगर्ची, तिरुवा, बैज, सुन्दास, परियारलगायत २७१ थर तथा मिजार समुदायमा सार्की, चमार, रोक्का, तोलाङ्गे, भुल, मंगराती, गोतामेलगायत २२९ थर समावेश छन्।
वादी समुदायमा ३७, गन्धर्वमा १६ तथा च्यामे र पोडे समुदायमा विभिन्न थरहरू सूचीकृत गरिएको छ।
गैरदलितसँग मिल्ने थर पनि छुट्टै सूचीमा
सरकारले पहाडी दलितले प्रयोग गर्ने तर गैरदलित समुदायमा समेत पाइने थरलाई पनि छुट्टै वर्गीकरण गरेको छ।
खड्का, अधिकारी, थापा, पाण्डे, खनाल, शर्मा, दाहाल, पोखरेललगायत २१४ थरलाई गैरदलितसँग मिल्ने थरका रूपमा अलग्गै सूचीमा राखिएको छ।
यसले एउटै थर भएका व्यक्तिको सामाजिक पहिचान छुट्याउन समुदायगत विवरणलाई आधार बनाउन खोजिएको देखिन्छ।
मधेशी दलितका २१ समुदाय
मधेशी दलितअन्तर्गत २१ वटा जाति तथा समुदाय समेटिएका छन्। चमार, मुसहर, दुसाध (पासवान), तत्मा, खत्वे, धोबी, बाँतर, कोरी, डोम, खटिक, नटुवा, ढाँढी, चिडिमार, ककैहिया, कलर, धन्कार, पासी, मेस्तर, सरभङ्ग र उराँवलगायत समुदाय सूचीमा छन्।
त्यस्तै मधेशी दलितले प्रयोग गर्ने तर गैरदलितसँग समेत मिल्ने ४२ थरलाई छुट्टै वर्गीकरण गरिएको छ। गौतम, चौधरी, यादव, मण्डल, महतो, सिंह, राय र दासलगायत थर त्यस सूचीमा समावेश छन्।
राजपत्रमा गरिएको यो सूचीकरणले दलित समुदायको सरकारी पहिचान, वर्गीकरण र तथ्याङ्क व्यवस्थापनलाई थप स्पष्ट बनाउने आधार तयार गरेको छ।




प्रतिक्रिया