पूर्वमुख्यसचिव अर्यालको घरमा सीआईबीले मार्‍यो छापा

पूर्वमुख्यसचिव अर्यालको घरमा सीआईबीले मार्‍यो छापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –पूर्व मुख्यसचिव एकनारायण अर्यालको घरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको छ ।

मलेसिया जाने कामदारसँग अवैध रूपमा रकम असुली सम्बन्धी केही कागजात हुनसक्ने आशंकामा सीआईबीले बूढानीलकण्ठस्थित निवासमा छापा मारेको हो ।

उनलाई बिहीबार नै पक्राउ गरेको थियो । श्रमिकहरूको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक प्रक्रिया कैलाश खड्काको माइक्रोटेक प्रालिले गर्दै आएको थियो । सीआईबीको अनुसन्धानका क्रममा कैलाश खड्काको सेटिङमा नेपाल सरकार र मलेसिया सरकारबीच २०७५ कात्तिकमा भएको सम्झौता विपरीत रकम असुली गरिएको पाइएको छ ।

दुई देशबीच भएको सम्झौताअनुसार नेपालबाट मलेसिया जाने श्रमिकहरूलाई शून्य लागतमा पठाउने उल्लेख छ । सरकारले तोकेको ६ हजार ५०० रुपैयाँ बराबरको बायोमेट्रिक बापत तिर्नुपर्ने रकमसमेत मलेसिया पुगेपछि रोजगारदाता कम्पनीले पहिलो महिनामा फिर्ता गर्ने उल्लेख छ ।

सरकारले तोकेको उक्त रकमबाहेक २०२६ मे १८ देखि थप १०० रिङगेट समेत असुली गरेको खुलेको छ । सम्झौताअनुसार भने मलेसियन श्रमिकले उक्त रकम तिर्ने तर अन्य मूलुकबाट मलेसिया आउनेहरुको हकमा यो लागु नहुने उल्लेख छ ।

उनीहरुले यो धन्दा नेपाल सरकार र मलेसियाको सरकारभन्दा पनि कैलाश खड्कको माइक्रोटेक प्रालि र मलेसियास्थित बेष्टिनेट कम्पनीसित सझौता गरेर रकम असुली गरेको खुलेको छ । नेपाली श्रमिकबाट संकलन गरिएको रकमसमेत बेष्टिनेट कम्पनीलाई रकम पठाएको खुलेको हो ।

यो प्रक्रियामा नेपालस्थित मलेसियन दूतावासको भूमिकामाथि समेत प्रहरीले शंका व्यक्त गरेको छ । मलेसिया सरकारसित गरेको सम्झौता विपरीत दूतावासबाटसमेत कैलाश खड्कालाई चाहेजस्तो पत्र बनाएर मन्त्रालयमा पेश गरेको देखिएको छ ।

सीआईबीको अनुसन्धानको क्रममा यो धन्दा २०७० देखिनै सूरु भएको र पछि २०७५ मा दुई देशबीचको सम्झौता हुँदा पनि नरोकिएको देखिएको हो ।