काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी) सञ्चालक समिति (बोर्ड अफ गभर्नर्स) को ११औँ वार्षिक बैठकमा सहभागी हुन शनिबार साँझ कतार प्रस्थान गरेका छन् ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री वाग्ले शनिबार कतारको दोहा प्रस्थान गरेका हुन् ।
उनी कतार एयरवेजको नियमित उडानमार्फत शनिबार साँझ ७ बजे दोहा प्रस्थान गरेका छन् । प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्साल पनि सहभागी छन् ।
एआईआईबीको ११औँ वार्षिक बैठकका क्रममा अर्थमन्त्री वाग्ले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रमा सहभागी हुनेछन् । नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण तथा आर्थिक वृद्धिका प्राथमिकतामा बहुपक्षीय सहयोग र लगानी परिचालनका विषयमा बैठकमा छलफल हुनेछ ।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्ले एआईआईबीका अध्यक्षसँग भेटवार्ता गर्नेछन् । बैठकका क्रममा भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीहरूसँग पनि छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
नेपाली प्रतिनिधिमण्डल आगामी असोज १४ गते स्वदेश फर्किने कार्यक्रम छ ।




प्रतिक्रिया