ठाउँ-ठाउँमा बाढी र पहिरो, मुग्लिन-नारायणगढ सडक अवरुद्ध

ठाउँ-ठाउँमा बाढी र पहिरो, मुग्लिन-नारायणगढ सडक अवरुद्ध

बाढीले मिर्मीस्थित पुल बगायो, तालगाउँ डुबानमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अविरल वर्षाका कारण देशैभरको जनजीवन प्रभाविच भएको छ । वर्षाका कारण विभिन्न नदीमा बाढी आएको छ भने ठाउँ-ठाउँमा पहिरो गएको छ ।

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी खोलाको पुलमाथि पहिरो खस्दा सडक अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आइतबार बिहान करिब ८ बजे पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो।

पहिरो हटाउने काम सम्पन्न नभएसम्म उक्त सडकखण्डमा सवारी आवागमन प्रभावित हुने भएकाले यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

हेटौँडा- भीमफेदी- फाखेल-काठमाण्डु सडक अन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ किटनीमा वर्षाका कारण सडक भासिएको छ । उक्त स्थानमा एकतर्फी आवागमनसमेत अत्यन्त जोखिमपूर्ण भएपछि चालकहरुलाई सिस्नेरी वा खानीखेत वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

हेटौँडा-भीमफेदी-सिस्नेरी-काठमाण्डु सडक खण्ड अन्तर्गत भीमफेदी गाउँपालिका-२ ज्यालटार, भीमफेदी–६ को जुरीखेत र इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्सामा लेदोसहितको पहिरो खसेको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१९ नेवारपानी (रजैया नजिकै) सडकमा माथिबाट पहिरो र ढुंगा खस्दा सडक एकतर्फी मात्रै सञ्चालनमा आएको छ । यता धरान-चतरा सडकको हेटौँडा उपमहानगरपालिका–१६ हटिया बजारदेखि चिसापानीसम्म करिब १० वटा विद्युतका पोल ढलेर सडक पूर्ण अवरुद्ध भएको छ । पोल हटाउन र बाटो खुलाउन विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको छ ।

यसैगरी बेँसीसहर–चामे सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

पहिरो खसेको स्थानभन्दा करिब २०० मिटर उत्तरतर्फ सडक भासिएको छ। वर्षा भइरहेकाले पहिरो पन्छाउन र भासिएको स्थानमा मर्मतसम्भार गर्न कठिन भएको छ।

यता कालीगण्डकीको बाढीले पक्की पुल बगाएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका-१ हर्मीचौर जोड्ने मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारी वर्षका कारण स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाका सबै ढोका खोलिएका छन्। आयोजनाले विद्युत् उत्पादन बन्द गरेको छ। स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थलमा रहेको सेतीवेणी बजार डुबानमा परेको छ ।

पाल्पामा एक जनाको मृत्यु

पाल्पाको माथागढी गाउँपालिका–३ रुप्सेका ७५ वर्षीय शेरबहादुर चिदीको पहिरोमा परेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार पहिरोले घर पुरिँदा उनी च्यापिएका थिए। परिवारका अरू सदस्य भने भाग्न सफल भएको छ । पाल्पामै पहिरोमा परेर शनिबार अर्की एक महिलाको पनि मृत्यु भएको थियो।

शुक्रवारदेखि परेको अविरल वर्षाका कारण पाल्पाको विभिन्न स्थानमा पहिरो खस्दा एक दर्जन बढी घरपरिवार विस्थापित भएका छन् ।

त्यस्तै बुटवल–पाल्पाको डुम्रे नजिकै गौडा भन्ने स्थानमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। यस्तै उत्तरी गोरखाको चुमनुब्री–१ सामागाउँमा पहिरो आएको छ। मनास्लुको फेदीबाट राती ३ बजेतिर गाउँमा पहिरो झरेको हो ।

यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको पाउदार गिवाङमा पहिरोले घर पुरिएको छ । लगातारको वर्षापछि आएको पहिरोले घर पुरिएको हो । पहिरोबाट मानवीय क्षति भएको छैन ।

म्याग्दीमा अहिले पनि निरन्तर पानी परिरहेको छ । यस्तै, अन्नपूर्ण गाउँपालिकाकै ५ नम्बर वडामा रहेको गोलपानीमा पनि २ घर पहिरोले क्षति भएको छ । त्यहाँ पनि मानवीय क्षति नभएको बताइएको छ । चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर पुगेको छ । यो खतराको विन्दु ९ मिटरभन्दा १ मिटरभन्दा बढी हो ।

नारायणीमा ७ दशमलव ३ मिटर पुगेपछि चेतावनी तह पार हुनेमा अहिले जलसतह निरन्तर बढिरहेको छ । जलसतह बढेसँगै नदी आसपासका तल्लो क्षेत्रमा कटान तथा डुबानको जोखिम बढेको छ ।

तालगाउँ डुबानमा

लगातारको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको तालगाउँ फेरि डुबानमा परेको छ । २०७८ सालमा बाढीले बगेको उक्त ताल केही समयअघि मात्रै पुनः निर्माण सकिएको थियो । अहिले फेरि डुबानमा परेको छ ।

नासों गाउँपालिका-१ स्थित उक्त गाउँ नदीको बहाव डाँडामा थुनिएर जलमग्न भएको हो । अहिले स्थानीय व्यक्तिहरूसँग सम्पर्क टुटेको छ । बाढी र पहिरोका कारण गाउँबाट बाहिरिने उत्तर र दक्षिण दुवैतर्फका सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यसैबिच, मर्स्याङ्दी नदीको बहाव अझै बढ्ने क्रममा रहेकाले र नदीको प्राकृतिक बहावमा अवरोध देखिएकाले नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सबैलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।