काठमाण्डु– रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले ४५ सयभन्दा बढीको स्वास्थ्य उपचार गरेको छ।
गत भदौ १० गतेदेखि नेपाल एपीएफ अस्पताल बलम्बुबाट दक्ष चिकित्सकसहितको टोली नुवाकोटमा परिचालन भई विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको हो।
टोलीले नुवाकोट आयुर्वेद चिकित्सालय, क्रियापुत्री भवन, केन्द्रीय कारागार नुवाकोट, सेतीदेवी आधारभूत विद्यालय, क्षेत्रपाल आधारभूत विद्यालय, रणभुवनेश्वरी माध्यमिक विद्यालय र नुवाकोट स्वास्थ्य चौकीलगायतका स्थानमा हेल्थ क्याम्प स्थापना गरी स्वास्थ्य सेवा प्रदान गरेको छ।
उक्त क्षेत्रको समग्र कमाण्ड प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक डा। शैलेन्द्रकुमार दुवाल श्रेष्ठले सम्हाल्दै आएका छन् । स्वास्थ्य उपचारका लागि प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डा. रोशन पराजुली र डा. गंगाराम खत्री परिचालन भएका थिए । हाल प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डा. शोभा डंगोल सो क्षेत्रमा निरन्तर खटिएकी सशस्त्र प्रहरीले जनाएको छ।
स्वास्थ्य टोलीले नुवाकोटको विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाका २५ वटा होल्डिङ सेन्टरमा रहेका बाढी प्रभावितहरूको समेत स्वास्थ्य परीक्षण गरेको छ।
यसैगरी, नुवाकोटस्थित केन्द्रीय कारागारमा फैलन सक्ने सम्भावित सरुवा रोग तथा अन्य स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै चिकित्सकसहितको टोलीले विशेष स्वास्थ्य परीक्षण गरेको छ। टोलीले कारागारमा रहेका ४०२ जना कैदीबन्दीलाई स्वास्थ्यसम्बन्धी आवश्यक परामर्शसमेत दिएको छ।
सशस्त्र प्रहरीको स्वास्थ्यकर्मी टोली उपचारमा मात्र सीमित नरही बाढीपछि फैलन सक्ने सम्भावित महामारी नियन्त्रण तथा वातावरणीय स्वच्छता कायम गर्नसमेत सक्रिय भएको छ। टोलीले नुवाकोटको देवीघाट बजार क्षेत्र, देवीघाट माध्यमिक विद्यालय परिसर र केन्द्रीय कारागार क्षेत्र आसपास किटनाशक औषधि छर्किएको जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम न्यूनीकरण तथा सम्भावित महामारी नियन्त्रणका लागि सशस्त्र प्रहरीले स्वास्थ्य सेवा र सरसफाइसम्बन्धी गतिविधिलाई निरन्तरता दिइरहेको जनाएको छ।




प्रतिक्रिया