चोलेन्द्र शम्शेर जबरा रिहा

चोलेन्द्र शम्शेर जबरा रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डु– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा रिहा भएका छन् ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जबरालाई रिहा गरिएको बताए ।
उनले जबरालाई सुरक्षित साथ सुरक्षित स्थानमा पठाइएको उल्लेख गरे ।

‘उहाँले भनेकै ठाउँमा सुरक्षित साथ पठाएका छौं’, खड्काले भने । प्रहरीले गएराति उनलाई महाराजगञ्जस्थित निवासबाट बिना पुर्जी पक्राउ गरी टेकु लगेको थियो ।

जबरालाई पक्राउ गरिएकामा काँग्रेस, एमाले, नेपाल बार एसोसिएसन र मानव अधिकार आयोगसहितले विरोध जनाएका थिए ।

आयोगको टोली आइतबार बिहान जबराको अवस्था बुझ्न उनलाई राखिएको टेकुस्थित प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेको थियो । प्रहरीले भेट्न नदिएपछि टोली प्रहरी कार्यालय परिसरबाटै फर्किएको थियो ।

कार्यालयका प्रमुख एसएसपी खड्काले ‘जबरालाई पक्राउ गरिएको नभई ‘सुरक्षा थ्रेट’ का कारण ल्याइएको दाबी गरेका थिए । तर, उनले कसबाट जबरामाथि सुरक्षा चुनौती थियो भन्ने खुलाएका छैनन् ।

श्रोतका अनुसार जबराले सरकारविरोधी गतिविधि गरेको, अदालतमा विचाराधीन मुद्धा मिलाइदिने भन्दै डिल गरेको जस्ता उजुरी परेपछि प्रधानमन्त्रीको सचिवालयको मौखिक निर्देशनमा पक्राउ गरिएको हो ।