वर्षाले डुबान परेका क्षेत्रमा अलपत्र व्यक्तिहरूको सशस्त्र प्रहरीद्वारा उद्धार

वर्षाले डुबान परेका क्षेत्रमा अलपत्र व्यक्तिहरूको सशस्त्र प्रहरीद्वारा उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लगातार वर्षाको कारण देशका विभिन्न ठाउँमा डुबान तथा पहिरोमा परेका घरपरिवारलाई सशस्त्र प्रहरी बलको टोलीले उद्धार गर्नुका साथै घरपरिवारका सामान सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको छ ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६ झनझने गुम्बाचोकस्थित नारायणी नदीमा अविरल वर्षाको कारण डुबानमा परी घरको छतमा बसेका ६ जनालाई सशस्त्र प्रहरीले आईतबार बिहान सकुशल उद्धार गरेको छ ।

नदीमा पानीको बहाव बढ्न गई डुबानमा परेका ३ घरपरिवारको सामान सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । डुबानमा परेकाहरूको उद्धार कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सशस्त्र प्रहरीको टोली खटिएको छ ।

त्यसैगरी धनुषा जिल्लाको मिथिला नगरपालिका–११ बर्दिवासस्थित सिन्धुली सडक खण्डनजिकै रहेको आँपगाछीमा वर्षाका कारण पहिरोले पुरिएर अन्दाजी ४२ वर्षीय कमला श्रेष्ठको निधन भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश नक्टाझिजबाट खटिएको सशस्त्र प्रहरीसहित नेपाली सेना र नेपाल प्रहरी र स्थानीय बासिन्दाले पहिरो पन्छाई उनको शव निकालेको छ । उनको परिवारमा रहेका अन्य ४ जना सकुशल रहेका छन् ।

त्यस्तै पाल्पाको माथागढी नगरपालिका–३ स्थित भैसेकट्टामा शनिबार राति अविरल वर्षाका कारण पहिरोमा परी ३ वटा घर पुरिएका छन् । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गुल्म पाल्पाबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोली जेसीबीको सहयोगमा पहिरो पन्छाउने कार्य गरिरहेको छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित भुजुङ्गेमा शनिबार वर्षाका कारण पहिरोको उच्च जोखिममा करीब २८ घरपरिवारका ८५ जनालाई नगरपालिकास्थित वडा कार्यालय तथा बहुउद्देश्यीय सामुदायिक भवनहरूमा सुरक्षित स्थानान्तरण गरेको छ ।

शनिबार बर्दिया जिल्लाको गुलरिया नगरपालिका–८ टपरा गाउँस्थित सर्जु खोलाको आएको बाढी कारण सुकुम्बासी बस्ती डुबानमा परेको छ । उक्त स्थानमा रहेका १५ घरपरिवारलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कट्टीबाट खटिएको सशस्त्र प्रहरी टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

पश्चिम नवलपरासी जिल्लाको सुस्ताका विभिन्न ठाउँमा नारायणी नदीमा पानीका बहाव बढी डुबानमा परेका सयौँ नागरिकहरूलाई होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ भने जिल्लाको सरावल गाउँपालिका–७ बर्गदवामा खजुरा खोलाको बाढी गाउँमा पस्न नदिन सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुजहवाको टोलीले बोरामा माटो भरेर तटबन्ध बाँध्ने कार्य गरेको छ ।

रूपन्देहीको जितगढीस्थित विभिन्न ठाउँहरूमा जोखिममा परेका नागरिकहरूलाई सुरक्षा बेस बुटवलबाट खटिएको टोलीले विद्यालय भवनमा सुरक्षित स्थानान्तरण गरेको छ भने तिनाउ खोलाको कटान क्षेत्रमा पनि टोली परिचालन भई सुरक्षा प्रबन्ध मिलाइएको छ ।

म्याग्दीको बेनी स्थित फोटिया टोलमा पहिरोको जोखिममा परेका घरपरिवारलाई गलेश्वर मन्दिरको आश्रममा सारिएको छ, भने अन्य प्रभावित क्षेत्रहरूमा पनि सशस्त्र प्रहरीको उद्धार टोली निरन्तर खटिरहेको छ ।