काठमाण्डु– नारायणी नदीमा पानीको सतह खतराको तहभन्दा निकै माथि पुगेपछि चितवन र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जोड्ने नारायणी पुलमा सवारी आवागमन प्रभावित भएको छ।
नदीमा पानीको बहाव बढ्दै गएपछि पुरानो पुल अत्यधिक हल्लिन थालेको भन्दै प्रहरीले सुरक्षाका लागि ठूला तथा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएको हो। हाल नवलपुरबाट चितवनतर्फ जाने मोटरसाइकललाई मात्र पुल पार गर्न दिइएको छ।
अन्य सवारीसाधनलाई गैँडाकोट र नारायणघाटतर्फ नै रोकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले जनाएको छ। पुलमा सम्भावित जोखिम बढ्न सक्ने भएकाले यात्रुलाई पुलमाथि रोकेर फोटो तथा भिडियो खिच्नसमेत रोक लगाइएको छ।
देवघाट जलमापन केन्द्रका अनुसार आइतबार दिउँसो १ः५० बजे नारायणीमा पानीको सतह ११.९१ मिटर पुगेको थियो। नारायणीमा ७.३ मिटरलाई चेतावनी तह र ९ मिटरलाई खतराको तह मानिन्छ।
नदीको बहाव बढेसँगै गैँडाकोट, कावासोती, मध्यविन्दु र विनयी त्रिवेणी क्षेत्रका नदी किनारका बस्तीमा समेत डुबान भएको छ। पानीको सतह घटेपछि मात्रै पुलमा पूर्ण रूपमा सवारी सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ।




प्रतिक्रिया