पूर्व प्रधानन्यायाधीश चोलेन्द्रलाई भेट्न रोक लगाएकोप्रति मानव अधिकार आयोगको आपत्ति

पूर्व प्रधानन्यायाधीश चोलेन्द्रलाई भेट्न रोक लगाएकोप्रति मानव अधिकार आयोगको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ गरेको घटनामा आफ्नो अनुगमन टोलीलाई जबरासँग भेटघाट गरी जानकारी लिन रोक लगाइएको भन्दै आपत्ति जनाएको छ ।

आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको अनुगमनका लागि आयोगका सदस्यको नेतृत्वमा उच्चस्तरीय टोली आईतबार टेकुस्थित प्रहरी परिसर पुगेकोमा भेट्न रोक लगाइएको जनाएका छन् ।

नेपाल प्रहरीले आयोगको टोलीलाई जबरासँग भेटघाट गर्न नदिएको आयोगले जनाएको छ । अनुगमनका लागि प्रहरीको उच्च नेतृत्वसँग कुराकानी गर्दा समेत आयोगको टोलीलाई अनुगमन गर्न नदिनुको कारणबारे जानकारी नगराइएको आयोगको भनाइ छ ।

आयोगले राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४(क) अनुसार आवश्यकताअनुसार सार्वजनिक संस्था, निजी संस्था वा अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्ने तथा मानव अधिकार संरक्षणका लागि त्यस्ता निकाय, संस्था वा स्थानमा गर्नुपर्ने सुधारका सम्बन्धमा सम्बन्धित निकायलाई आवश्यक सुझाव र निर्देशन दिन सक्ने अधिकार रहेको जनाएको छ ।

संवैधानिक तथा कानुनी अधिकारविपरीत नेपाल प्रहरीबाट आयोगको अनुगमनमा अवरोध गरिएको भन्दै आयोगले घटनाप्रति खेद व्यक्त गरेको छ ।

आयोगले निष्पक्ष छानबिन गरी आफ्नो संवैधानिक तथा कानुनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ । आयोगलाई प्राप्त संवैधानिक तथा कानुनी अधिकारको सम्मान गर्नसमेत सरकारसँग आग्रह गरिएको छ ।

पूर्व प्रधानन्यायाधीश जबरालाई प्रहरीले शनिबार राति महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा पुर्‍याएको थियो ।