म्याग्दी पहिरो : ६ जनाको शव फेला, ७८ को उद्धार

म्याग्दी पहिरो : ६ जनाको शव फेला, ७८ को उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लगातारको वर्षाले म्याग्दीमा पहिरो जाँदा बेपत्ता भएका ६ जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले पहिरोमा परेका ६ जनाको शव फेला परेको र ३ जना अहिले पनि बेपत्ता रहेको जानकारी दिएको छ ।

अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका १९ वर्षीय सविन गर्बुजा, अन्नपूर्ण गाउँपालिका–३ फगामकी ५४ वर्षीया योमाया पाइजा, मालिका गाउँपालिका–३ डाँडागाउँका ३१ वर्षीय चिरण पुन, सोही स्थानका २८ वर्षीय देवबहादुर, अन्नपूर्ण गाउँपालिका–६ गिवाङकी ५ वर्षीया जेनी पुर्जा र अन्नपूर्ण गाउँपालिका–३ फगामकी ७५ वर्षीया शिलकुमारी गर्बुजाको शव फेला परेको प्रहरीले जनाएको छ।

यस्तै, अन्नपूर्ण गाउँपालिका–६ गिवाङका ७५ वर्षीय ओमबहादुर तिलिजा, अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका २१ वर्षीय मनोज गर्बुजा र बेनी नगरपालिका–३ भकिम्ली छेपारेकी कुमारी विक बेपत्ता छन् ।

यसैबीच, नेपाली सेनाको हेलिकप्टरको सहयोगमा ७८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। विभिन्न स्थानमा प्रहरी परिचालन गरी थप उद्धार तथा राहत वितरणको काम भइरहेको प्रहरीले बताएको छ।

पहिरोका कारण बेनी–जोमसोम र बेनी–दरबाङ सडक खण्डका विभिन्न स्थानमा यातायात आवागमन ठप्प भएको छ।