क्रिकेटमा नेपालीको कमाल : फितलो व्यवस्थापनबीच एकपछि अर्काे अन्तर्राष्ट्रिय कीर्तिमान


काठमाडौं –  क्रिकेट खेल पछिल्ला दशकमा विश्वभर चर्चित बनेको छ । नेपालीमाझ समेत क्रिकेट लोकप्रिय नै छ । फूटवलजस्तै क्रिकेटलाई समेत नेपालीले उत्तिकै रुचाउने गर्छन् । तर विश्व खेलकुदको मञ्चमा नेपालको स्थान उचो छैन । नेपाली टीमले नै पर्याप्त सफलता हात पार्न नसकेपनि केही खेलाडी भने पछिल्लो समय चम्किँदै गएका छन् ।

नेपालका उदियमान खेलाडी रोहित पौडेलले विश्व क्रिकेटका दुई अब्बल खेलाडी भारतका सचिन तेन्दुलकर र पाकिस्तानका शाहीद अफ्रिदीको कीर्तिमान तोड्दै विश्व क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाए । अर्का खेलाडी सन्दिप जोराले १७ वर्ष १ सय ३ दिनको उमेरमा आफ्नो डेब्यूमा अविजित ५३ रन बनाएपछि टी–२० अन्तर्राष्ट्रिय खेलमा अर्धशतक बनाउने उनी सबैभन्दा कान्छा खेलाडी बनेका छन् । यी दुवै खेलाडीले बनाएका कीर्तिमान अन्तर्राष्ट्रिय स्तरका हुन् ।

फितलो व्यवस्थापन

नेपाली क्रिकेटको विकासका लागि आन्तरिक व्यवस्थापन एकदमै कमजोर रहँदै आएको छ । पदाधिकारी नियुक्तिदेखि खेलाडी छनौटसम्म राजनीति भएर क्रिकेटको व्यवस्थापन पक्ष आशलाग्दो छैन । सरकारी नेतृत्वले समेत क्रिकेटको व्यवस्थापनलाई सही बाटोमा ल्याउन सकेको देखिएको छैन ।

नेपाली क्रिकेटको व्यवस्थापन गर्ने निकाय नेपाल क्रिकेट संघ सन् २०१६ एप्रिलदेखि निलम्बित छ । संघको नेतृत्व विवादले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले निलम्बनको निर्णय गरेको थियो । हाल नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय सहभागितालाई आईसीसीले नै व्यवस्थापन गरिरहेको छ ।

खेलाडीलाई आवश्यक पर्याप्त तालिम, स्रोतसाधन र प्रोत्साहनका कार्यक्रम समेत देखिँदैनन् । हाल टीममा रहेका खेलाडीको प्रोत्साहन सँगसँगै नयाँ खेलाडी उत्पादनमा समेत राज्यका निकायको खासै ध्यान देखिँदैन । तैपनि खेलाडीले व्यक्तिगत क्षमता देखाउँदै नेपाली क्रिकेटको नाम अन्तर्राष्ट्रिय रेकर्डमा दर्ता गराइरहेका छन् ।

रोहितको रेकर्ड

नेपाली क्रिकेट टोलीले गत शनिबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग राम्रो प्रदर्शन गरेको थियो । जसमा उदियमान खेलाडी रोहित पौडेलले अन्तर्राष्ट्रिय स्तरको दुर्लभ रेकर्ड समेत बनाए । पौडेलले खेलमा ५८ बलमा ५५ रन बनाएका थिए ।

रोहितले विश्व क्रिकेटका दुई अब्बल खेलाडी भारतका सचिन तेन्दुलकर र पाकिस्तानका शाहीद अफ्रिदीको कीर्तिमान तोड्दै विश्व क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका छन् । परिपक्व खेल प्रस्तुत गरेर राष्ट्रिय टोलीको मध्यक्रममा आफ्नो स्थान बनाइसकेका रोहित पौडेलले ५८ बलमा ५५ रन बनाउँदा उनको उमेर १६ वर्ष १ सय ४६ दिन पुगेको थियो ।

यसअघि भारतका सचिन तेन्दुलकरले १६ वर्ष २१३ दिनमा ५९ रन बनाइ सानो उमेरमा अर्धशतकको कीर्तिमान रचेका थिए । उनले पाकिस्तानविरुद्धको टेस्टमा ५९ रन जोडेका थिए ।

एकदिवसीय क्रिकेटमा कान्छो खेलाडीको कीर्तिमान पाकिस्तानी खेलाडी अफ्रिदीको नाममा थियो । श्रीलंका विरुद्धको खेल खेल्दा १६ वर्ष २ सय १७ दिन पुगेका अफ्रिदीले १ सय २ रन बनाएका थिए । अब दुवै रेकर्ड नेपाली खेलाडीको नाममा दर्ता भएका छन् ।

सन्दीपको सफलता

बिहीबार पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय खेल खेलिरहेका सन्दीप जोराले प्रभावशाली ब्याटिङ गरेर नयाँ कीर्तिमान राखे । टीम पराजित भएपनि उनको नाममा अन्तर्राष्ट्रिय कीर्तिमान बनेको छ । आईसीसीका अनुसार १७ वर्ष १ सय ३ दिनको उमेरमा आफ्नो डेब्यूमा अविजित ५३ रन बनाएपछि टी–२० अन्तर्राष्ट्रिय खेलमा अर्धशतक बनाउने उनी सबैभन्दा कान्छा खेलाडी बनेका छन् । तर सन्दीपको उत्कृष्ठ प्रदर्शनले मात्रै नेपाललाई जिताउन सकेन ।

जोराले भने, ‘खेल सकिएपछि कीर्तिमानको बारेमा थाहा पाएँ । तर नेपालले खेल हारेकोले खुशी हुन सकिरहेको छैन ।’ जोरा ४१ बलमा ३ चौका र १ छक्कासहित अर्धशतक पूरा गर्दै टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालको तर्फबाट अर्धशतक बनाउने तेस्रो खेलाडी बनेका छन् ।

यसअघि सन् २०१५ मा पारस खड्काले नेदरल्यान्ड्सविरुद्ध ५४ रन र सन् २०१४ मा सुवास खकुरेलले अफगानिस्तानविरुद्ध ५६ रन बनाएका थिए । जोरा आफ्नो पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालको तर्फबाट सबैभन्दा बढी रन बनाउने खेलाडी समेत बनेका छन् । यसअघि ज्ञानेन्द्र मल्लले सन् २०१४ मा हङकङविरुद्ध ४८ रन बनाएर यो कीर्तिमान राखेका थिए । 

प्रतिक्रिया दिनुहोस
Advertisement