काठमाण्डु – श्रम संस्कृति पार्टीका सांसद धुर्वराज राईले देशको समस्याप्रति सरकार गम्भीर नभएको टिप्पणी गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले भदौ १० गते आएको विनाशकारी बाढीपछि आफूहरू प्रधानमन्त्रीको जवाफको प्रतीक्षामा रहेको बताए।
बाढी र पहिरोको घटनाबारे आफूहरूले प्रश्नसहित सरकारको जवाफ पर्खिरहेको उल्लेख गर्दै सांसद राई सभामुखमार्फत प्रधानमन्त्रीलाई संसद्मा आएर जवाफ दिन आग्रह गरे।
‘भदौ १० गते हामीलाई १० वर्ष भन्दा यताकै ठुलो विपत्ति आइलग्यो। त्यो विषयवस्तुमा हामी सबै गम्भीर भयौ। आज एक महिना दुई दिन पुगिसकेछ। हामी लामो समयदखि प्रधानमन्त्रीज्यूको उत्तरको प्रतिक्षामा र प्रश्नहरु बोकेर बसेका थियौं। त्यो गम्भीर समयमा हामीले सबैले साथ दिएका छौं। आशा छ अब सरकार प्रमुख आएर हामीलाई उत्तर दिनुहुनेछ’, उनले भने ।
सरकारका पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउँदै राईले पक्राउ गर्ने र छाड्ने क्रमले गम्भीर विषयलाई समेत खेलाँचीका रूपमा लिएको आरोप लगाए। उनले भरत दाहाल र चोलेन्द्र शमशेर राणालाई पक्राउ गरी पुनः छाडिएको विषय उल्लेख गर्दै यस्ता घटनामा सरकार गम्भीर हुनुपर्ने सुझाव दिए ।
उनले भने, ‘विषय गम्भीर हो भने सरकार गम्भीरतापूर्वक लाग्नुपर्छ। नत्र कुन हिसाबबाट सरकारले यस्तो गतिविधि गरिरहेको छ, त्यसबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
यस्तै, सांसद राईले पछिल्लो समय नागरिकमा अभाव, निराशा र आत्महत्याका घटना बढ्दै गएको भन्दै त्यसको कारण पहिचान गरी समाधान खोज्न पनि सरकारलाई आग्रह गरे।
सरकार र संसद्प्रति नै जनताको असन्तुष्टि बढ्ने वातावरण बनिरहेको भन्दै उनले जनताका समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताए।




प्रतिक्रिया