काठमाण्डु –पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा पक्राउ गरिएको विषय संसद्मा उठेको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै विपक्षी दलका सांसदहरूले जबराको पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।
सांसदहरुले सुरक्षा थ्रेटको बहानामा पक्राउ गरेको भन्दै आपत्ति जनाएका हुन् ।
प्रहरीले जबरालाई मध्यरातमा पक्राउ गरी १४ घण्टासम्म बिना कारण थुनेको भन्दै यस विषयमा सरकारले सदनलाई जानकारी गराउनु पर्ने उनीहरूले माग गरे ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले घटनाप्रति आपत्ति जनाउँदै बिना पक्राउ पुर्जी र बिना कारण जबरालाई पक्राउ गरेर सरकारले गैरकानुनी राज्यको दृष्टान्त प्रस्तुत गरेको आरोप लगाए।
‘मध्यराति पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले पक्राउ गर्यो। बिना पक्राउ पुर्जी,बिना कारण। गैरकानुनी राज्यको दृष्टान्त राज्यले देखायो,’उनले भने, ‘हामी कानुनी राज्यमा छौं कि गैरकानुनी राज्यमा ? यसको जवाफ दिन सरकारसँग माग गर्छु।’
जबरालाई ‘जेनजीबाट सुरक्षा थ्रेट’ रहेको भन्दै पक्राउ गरिएको समाचार आएको उल्लेख गर्दै उनले सुरक्षा थ्रेट दिने व्यक्तिलाई पक्राउ गर्ने कि सुरक्षा थ्रेटमा रहेका व्यक्तिलाई पक्राउ गर्ने भन्दै सरकारसँग प्रश्न गरे।
दुलालले राज्यको यस्तो दादागिरी अन्त्य हुनुपर्ने बताउँदै प्रश्न गरे। ‘के गरेपछि यो बौलठ्ठीपन आउँछ ?’ उनले विगतमा सरकार गठन भएकै दिन मध्यरातमा पूर्वप्रधानमन्त्रीको घर घेराउ गरेर पक्राउ गरिएको र अदालतले पछि रिहा गरेको घटनासमेत स्मरण गरे। अहिले पूर्वप्रधानन्यायाधीश जबरालाई पनि त्यसैगरी मध्यरातमा पक्राउ गरिएको उनको भनाइ छ।
यस्तै एमाले सांसद ऐन महरले मध्यरातमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपहरण तथा गुण्डागर्दी शैलीमा बिना कसुर र बिना अभियोग पक्राउ गरी सरकारले राज्य आतंक देखाएको आरोप लगाए । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि रातमा पक्राउ गर्न गएको स्मरण गराए।
कानुन मिच्ने जोकोहीलाई तथ्य र प्रमाणका आधारमा कारबाही गर्न सक्ने भएपनि सरकारले पूर्वाग्रह र विरोधका आधारमा नागरिकलाई तर्साउने, धम्क्याउने र हुर्मत लिने काम गरेको उनको दाबी छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भरत गिरीले पनि जबरा पक्राउको विषयमा सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।
गिरीले राणालाई सुरक्षा थ्रेट रहेको भन्दै प्रहरीले राति पक्राउ गरेको घटनाबारे पनि प्रश्न उठाए। सुरक्षा खतरा भएको अवस्थामा व्यक्तिलाई सुरक्षित राख्नुपर्नेमा पक्राउ गरेर लगिएको भन्दै उनले असन्तुष्टि जनाए।
जबरालाई भेट्न जाने क्रममा संवैधानिक निकाय तथा मानव अधिकारकर्मीहरूलाई समेत भेट्न नदिइएको भन्दै उनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाए।




प्रतिक्रिया