चोलेन्द्र पक्राउबारे काँग्रेस सांसद् ढुंगाना : पञ्चायती शैलीको हुकुमी शासन

चोलेन्द्र पक्राउबारे काँग्रेस सांसद् ढुंगाना : पञ्चायती शैलीको हुकुमी शासन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा गरिएको गिरफ्तारीबारे प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङले संसद्मा जवाफ दिनुपर्ने माग गरेका छन् ।

सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै ढुंगानाले बिना पक्राउ पुर्जी गरिएको जबराको गिरफ्तारीले पञ्चायतकालको झल्को दिएको आरोप लगाए ।

उनले सरकार दुई तिहाइको दम्भमा स्वेच्छाचारी ढंगले अघि बढेको दाबी गरे ।

‘हिजो पञ्चायतकालमा सिभिल ड्रेसमा आएर बिना जानकारी गिरफ्तारी हुन्थ्यो, आज लोकतन्त्रमा पनि त्यस्तै अवस्था देखिनु चिन्ताजनक छ,’ ढुंगानाले भने, ‘दुई तिहाइको दम्भमा सरकारले स्वेच्छाचारी निर्णय लिइरहेको छ ।’


सुशासनको नारा दिएर आएकाहरुको सरकारले व्यवहारमा भने हुकुमी शासन लाद्न खोजिएको आरोप लगाउँदै उनले लोकतन्त्र र संविधानको रक्षाका लागि युवा पंक्ति र जनता जस्तोसुुकै बलिदानका लागि तयार रहेको जिकिर गरे ।


कानूनको शासन कायम गर्नु तथा आफ्ना निर्णयप्रति जनताप्रति उत्तरदायी हुनु सरकारको संवैधानिक दायित्व भएको ढुंगानाको भनाइ थियो ।

ढुंगानाले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको अवस्थाबारे समेत सरकारले पर्याप्त चासो नदिएको गुनासो गरे ।

यस्तै राष्ट्रिय सभाको शून्य समयमा सांसदहरूले उठाएका विषयको सुनुवाइ नभएकोमा पनि आपत्ति जनाए ।