काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद खगेन्द्र सुनारले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने त्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आत्मविश्वास (कन्फिडेन्स) कमजोर देखिएको भन्ने विपक्षी दलका सांसदको टिप्पणीप्रति खरो जवाफ दिएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदले प्रधानमन्त्रीको ‘कन्फिडेन्स लुज’ भएको बताएका थिए ।
जवाफमा सांसद् सुनारले प्रधानमन्त्रीले राष्ट्रसंघको मञ्चबाट उठाएको जलवायु परिवर्तनको मुद्दाले विश्वको ध्यान आकर्षित गरेको दाबी गरे । अहिले उक्त विषय सबैभन्दा बढी हेरिने, पढिने र लेखिने समाचार बनेको उनको दाबी छ ।
उनले घिउ खाएपछि जिउमा बल आउँछ भन्ने सुनेको भन्दै ‘कन्फिडेन्स’ के खाएपछि आउँछ भन्नेबारे सुन्न चाहेको बताए ।
‘ग्रीन टी खाएपछि आउँछ कि ? गिरीबन्धु टी खाएपछि आउँछ त्यो कन्फिडेन्स ? त्यो सुन खाएपछि आउँछ क्विन्टल–क्विन्टल लडाकुको शिविरको पसिना र रगत खाएपछि आउँछ ?’, सुनारले भने, ‘वाइडबडी खाएपछि आउँछ कि बालुवाटार खाएपछि ? पासपोर्ट खाएपछि आउँछ कि गरिबका, सुकुमबासीका लालपुर्जा खाएपछि आउँछ ? के खाएपछि आउँछ त्यो कन्फिडेन्स ? यो सदन सुन्न चाहन्छ ।’




प्रतिक्रिया