काठमाण्डु – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेटवर्किङ व्यवसायका नाममा हुन सक्ने विभिन्न प्रकारका ठगीबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
सीआईबीले जनचेतनामूलक सन्देश जारी गर्दै पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यमबाट पिरामिडमा आधारित नेटवर्किङ व्यवसायमा सदस्य बन्न प्रस्ताव तथा विज्ञापन आउने गरेको जनाएको छ । यस्ता प्रस्तावमा प्रलोभनमा नपरी कुनै पनि रकम लगानी गर्नुअघि आवश्यक प्रमाण र कागजात जाँच गर्न सीआईबीले आग्रह गरेको छ ।
सीआईबीका अनुसार कुनै वस्तुको वास्तविक मूल्य र बजार मूल्य तुलना गर्न तथा सदस्य बनाउँदा पैसा तिर्नुपर्ने व्यवस्था छ वा छैन भन्ने विषयमा स्पष्ट हुन आवश्यक छ । पार्सल पठाएको, चिठ्ठा परेको वा त्यस्तै अन्य बहानामा रकम माग गरी हुन सक्ने ठगीबाट समेत सावधान रहन आग्रह गरिएको छ ।
नयाँ सदस्य थपेबापत आर्थिक लाभ दिने, पार्सल पठाएको दस्तुर तथा चिठ्ठा परेको भन्दै कर तिराउन बैंकिङ तथा डिजिटल भुक्तानी प्रणालीमार्फत रकम संकलन गर्ने वा लगानी गर्न लगाउने कार्यबाट समेत सचेत हुन सीआईबीले भनेको छ ।
छिटो र धेरै नाफा कमाउने प्रलोभनमा नपर्न तथा सम्बन्धित कम्पनी कानुनी रूपमा दर्ता भएको र आवश्यक इजाजतपत्र प्राप्त गरेको छ वा छैन भन्ने जाँच गर्न सीआईबीले आग्रह गरेको छ । ई–सेवा तथा बैंक खाताहरू अपडेट गर्ने बहानामा ओटीपी उपलब्ध नगराउन र शंकास्पद लिंकमा क्लिक नगर्नसमेत सचेत गराइएको छ ।
सीआईबीले आकर्षक तलब, घरमै बसेर आम्दानी, अनलाइन काम, आईटी तथा कम्प्युटरसम्बन्धी रोजगारी र विदेशमा आकर्षक रोजगारीको प्रलोभन देखाएर नेपाली नागरिकलाई सम्पर्कमा ल्याउने, रकम तथा व्यक्तिगत विवरण संकलन गर्ने र विदेश पठाउने गतिविधिबाट पनि सावधान रहन आग्रह गरेको छ ।
धेरै कमाइ तथा नाफाको वाचा जति आकर्षक हुन्छ, जोखिम पनि त्यति नै हुन सक्ने भन्दै सीआईबीले आम्दानीको स्रोत स्पष्ट रूपमा सोध्न र सम्बन्धित कागजात तथा प्रमाण सुरक्षित राख्न सुझाव दिएको छ ।
विदेशमा रोजगारी तथा प्रशिक्षणको प्रलोभन देखाएर नेपाली नागरिकलाई छिमेकी मुलुकसम्म पुर्याई कागजात तथा मोबाइल जफत गर्ने, बन्धक बनाउने, शारीरिक तथा मानसिक दबाब दिने र जबरजस्ती लामो समय अनलाइन स्क्यामिङमा लगाउने कार्यसमेत हुन सक्ने भन्दै सीआईबीले यसतर्फ विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
कुनै पनि प्रस्तावमा हतारमा निर्णय नगर्न सीआईबीले सुझाव दिएको छ । राम्रो व्यवसायले सामान्यतया सोचविचार गर्ने समय दिने भन्दै दबाबमा निर्णय गराउन खोज्ने गतिविधि आफैँमा जोखिमको संकेत हुन सक्ने सीआईबीको भनाइ छ ।
सीआईबीले ‘सचेत नागरिक बनौँ, प्रलोभनमा नपरौँ, प्रमाण नहेरी पैसा नहालौँ, आफू पनि जोगिऔँ, अरूलाई पनि जोगाऔँ’ भन्ने सन्देशसहित सर्वसाधारणलाई सचेत गराएको छ ।
आफू ठगिएको शंका लागेमा नजिकको प्रहरी कार्यालयमा सूचना वा उजुरी दिन सकिने सीआईबीले जनाएको छ । ठगी, आपराधिक विश्वासघात, कीर्ते, विद्युतीय कारोबार, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण लगायतका कसूरमा प्रहरीले अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउने समेत सीआईबीले जनाएको छ ।




प्रतिक्रिया