काठमाण्डु – असोज ८ गतेदेखि अविरल वर्षासँगै आएको बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण देशभर २७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते र ४ जना सम्पर्कविहीन भएका छन् ।
सरकारका अनुसार यस अवधिमा भएका ५१३ वटा मनसुनजन्य घटनाबाट १ हजार ६५ परिवार प्रभावित भएका छन् । ती घटनामा २२५ घर पूर्णरूपमा र १३७ घर आंशिकरूपमा क्षतिग्रस्त भएका छन् । घटनामा २७ गोठ तथा ११४ पशुचौपायामा समेत क्षति पुगेको छ ।
सरकारले प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनसँगै क्षतिग्रस्त पूर्वाधार मर्मत गरी जनजीवन सामान्य बनाउने कामलाई तीव्रता दिएको जनाएको छ । बाढीपहिरोका कारण सडक, पुल, जलविद्युत् आयोजना र खानेपानी प्रणालीलगायत दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका पूर्वाधारमा क्षति पुगेको छ ।
देशभरका विभिन्न राजमार्ग तथा सडकखण्डका १४७ स्थानमा क्षति पुगेकामा १२५ स्थानमा मर्मतपछि यातायात सञ्चालनमा ल्याइएको सरकारले जनाएको छ । बाँकी सडकखण्डमा पनि मर्मत तथा पहिरो पन्छाउने काम भइरहेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत विभिन्न स्थानमा गएको पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । नारायणी–मुग्लिन सडकखण्डको सिमलताल नजिक भासिएको सडकको मर्मत गरी एकतर्फी सञ्चालनमा ल्याइएको छ ।
बीपी राजमार्गअन्तर्गत मात्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेंसी, कटुन्जे र चौकीडाँडा लगायतका स्थानमा पहिरो तथा डाइभर्सन बगेका कारण अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । थप क्षति नभएमा सडक मंगलबार साँझसम्म सञ्चालनमा ल्याउने सरकारको तयारी छ ।
कालिगण्डकी कोरिडोरमा पनि यातायात अवरुद्ध रहेको छ । बेनी–जोमसोम, पाल्पा, बागलुङ तथा नवलपरासी खण्डका विभिन्न स्थानमा पहिरो गएको, सडक भासिएको तथा पुलको एप्रोच बगेको छ । पहिरो पन्छाउने काम जारी रहेकाले सम्पूर्ण सडक सञ्चालनमा आउन ३ दिनभन्दा बढी समय लाग्ने प्रारम्भिक आकलन गरिएको छ ।
भालुवाङ–चकचके–लिवाङ सडकमा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको छ । बेसिसहर–चामे सडकअन्तर्गत मनाङको नासों गाउँपालिका तथा खोत्रोलगायतका स्थानमा पहिरो हटाउने काम भइरहेको छ । पूरै सडक सञ्चालनमा आउन करिब ३ दिन लाग्ने देखिएको छ ।
त्रिभुवन राजपथमा पहिरो पन्छाएर सुरक्षा सतर्कतासहित यातायात सञ्चालनमा ल्याइएको छ । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकमा २१ स्थानमा पहिरो खसे पनि सडक खुलाउने काम तीव्र पारिएको र मंगलबारसम्म यातायात सञ्चालन गर्ने तयारी रहेको सरकारले जनाएको छ ।
यसैगरी बाढीका कारण कालीगण्डकी, मर्स्याङ्दी र सेती–मादी कोरिडोरलगायत राष्ट्रिय प्रसारण लाइनबाट १ हजार १३.२ मेगावाट विद्युत् आपूर्ति बन्द भएको थियो । त्यसमध्ये सेती–मादी कोरिडोरमा रहेका कुल २६२ मेगावाट र मर्स्याङ्दी कोरिडोरका १९० मेगावाट क्षमताका जलविद्युत् केन्द्र सञ्चालनमा आएका छन् । बाढीका कारण अवरुद्ध १४४ मेगावाटको कालीगण्डकी जलविद्युत् केन्द्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।
क्षतिग्रस्त राहुघाट जलविद्युत् आयोजना सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ । कुस्मा–दाना प्रसारण लाइनमा क्षति पुगेका कारण विद्युत् प्रसारण हुन नसकेका ७ वटा जलविद्युत् केन्द्रको कुल क्षमता १९० मेगावाट रहेको छ ।
राहुघाट सबस्टेसनमा जोडिएका र बाढीका कारण अवरुद्ध राहुघाट जलविद्युत् केन्द्रको ४० मेगावाटबाहेक १२७ मेगावाट बराबरको उत्पादन सञ्चालनमा आउन सक्ने अवस्था रहेको जनाइएको छ ।
कालीगण्डकी कोरिडोरको २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना–कुस्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
दूरसञ्चार सेवा पुन: सञ्चालनको प्रयास
बाढीपहिरोबाट प्रभावित दूरसञ्चार सेवा पनि चाँडै सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । नेपाल टेलिकमका १ हजार १३२ टावरको नेटवर्क विच्छेद भएकामा ७८२ वटा सञ्चालनमा ल्याइएको छ । एनसेलका १६२ वटा नेटवर्क विच्छेद भएकामा १०५ वटा मर्मत गरी सञ्चालनमा ल्याइएको छ ।
डुबान प्रभावित बस्तीबाट नागरिकको उद्धार
नारायणी नदीमा आएको बाढीका कारण डुबानमा परेको सुस्ताका बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । चितवनको देवघाट, बाह्रघरेलगायत तटीय क्षेत्रका स्थानीयलाई पनि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि तिलाठी कोइलाडी गाउँपालिकामा डुबानमा परेका ५०० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सर्लाहीको लखनदेई खोलामा आएको बाढीले भाडसर खुटौनाको बस्ती डुबानमा पारेको छ ।
रौतहटमा लालबकैया र बागमती नदीका तटीय क्षेत्र प्रभावित भएका छन् । तिनाउ नदीको किनारमा रहेका मझुवा, प्रगतिनगर, हात्तीसुँढ र युद्धनगरलगायत डुबान प्रभावित बस्तीबाट सुरक्षाकर्मीले करिब २०० घरपरिवारका १ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेका छन् ।
बाढीपहिरोका कारण मुस्ताङ, मनाङ, पाल्पा, बागलुङ र म्याग्दीलगायत पहाडी तथा हिमाली जिल्ला पनि प्रभावित भएका छन् । प्रभावित नागरिकका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी राहत तथा अस्थायी बसोबासको व्यवस्था मिलाइएको सरकारले जनाएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले अझै मौसमजन्य खतरा नटरेको र जोखिम कायमै रहेकाले सबैलाई सतर्क रहन आग्रह गरेका छन् । सरकारले प्रभावित नागरिकको सुरक्षित व्यवस्थापन तथा क्षतिग्रस्त पूर्वाधारको मर्मतलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ ।




प्रतिक्रिया