एमालेले प्रधानमन्त्री बालेनलाई भन्योः न्युयोर्क भ्रमणबारे सदनलाई जानकारी चाहियो

एमालेले प्रधानमन्त्री बालेनलाई भन्योः न्युयोर्क भ्रमणबारे सदनलाई जानकारी चाहियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एमालेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग संयुक्त राष्ट्रसंघको महासभासम्बन्धी भ्रमणबारे संसदलाई जानकारी दिन माग गरेको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद टुकाभद्रा हमालले प्रधानमन्त्रीले महासभामा उठाएका विषय र भ्रमणका उपलब्धिबारे सदनलाई जानकारी गराउन माग गरिन् ।

प्रधानमन्त्री प्रतिनिधिसभाबाट निर्वाचित मुलुकको कार्यकारी प्रमुख भएकाले विदेश भ्रमणका विषयमा संसदलाई जानकारी गराउनुपर्ने उनको माग थियो ।
‘प्रधानमन्त्रीज्यू नेपालको कार्यकारी प्रमुख मात्र होइन । यही प्रतिनिधिसभाबाट निर्वाचित पनि हुनुहुन्छ’, हमालले भनिन्, ‘त्यसैले उहाँको विदेश भ्रमण संसद्प्रति जवाफदेही हुनैपर्छ ।’

हमालले प्रधानमन्त्री विदेश जानुअघि भ्रमणको उद्देश्य, एजेन्डा र राष्ट्रहितका प्राथमिकताबारे संसदलाई जानकारी गराउने तथा फर्किएपछि भएका महत्वपूर्ण भेटवार्ता र उपलब्धिबारे सदनलाई जानकारी दिने अभ्यासबारे स्मरण गराइन् ।

‘प्रधानमन्त्रीज्यूले विदेश जानुअघि यस सम्मानित सदनलाई भ्रमणको उद्देश्य र एजेन्डा तथा राष्ट्रहितको प्राथमिकताबारे जानकारी गराउने तथा स्वदेश फर्किएपछि भ्रमणबाट प्राप्त उपलब्धि र भएका महत्वपूर्ण भेटवार्ताबारे संसदलाई जानकारी गराउने संसदीय अभ्यासलाई गम्भीरतापूर्वक लिनुपर्छ,’ उनले भनिन् ।

प्रधानमन्त्री बालेन राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क गएका थिए । महासभालाई सम्बोधन गरेपछि उनी असोज १० गते स्वदेश फर्किएका हुन् ।

महासभामा उनले नेपालमा जलवायु परिवर्तनले पारेको असर, भोटेकोशी बाढीपहिरोबाट भएको क्षति तथा पर्वतीय मुलुकले भोगिरहेका संकटबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए ।