काठमाण्डु – वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै बेरोजगार युवायुवतीलाई ठगी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–१ का २६ वर्षीय दीपबहादुर तामाङ रहेका छन् । उनी हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ मा बस्दै आएको प्रहरीले जनाएको छ ।
तामाङले आफूलाई नीम एजुकेसन कन्सल्टेन्सी प्रालिको सञ्चालक बताउँदै आकर्षक तलबको प्रलोभन देखाएर युवायुवतीलाई जापान पठाइदिने भन्दै लामो समयसम्म झुक्याएको र रकम लिएपछि सम्पर्कविहीन भएको आरोप छ ।
पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाउँदा तामाङलाई ललितपुरको महालक्ष्मी नगरपालिका–५ बाट पक्राउ गरिएको कार्यालयले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
प्रहरीका अनुसार ठगी प्रकरणमा १५ जना पीडित रहेको देखिएको छ । विभिन्न प्रहरी कार्यालय तथा वैदेशिक रोजगार विभागमा दर्ता भएका उजुरीका आधारमा तामाङमाथि करिब १ करोड ३५ लाख ९४ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।
प्रहरीले तामाङविरुद्ध काठमाण्डु, ललितपुर, भक्तपुर र कास्कीका जिल्ला प्रहरी परिसर तथा प्रहरी वृत्तहरूमा वैदेशिक रोजगारीसम्बन्धी ठगीका उजुरी परेको जनाएको छ । वैदेशिक रोजगार विभागमा मात्रै सातवटा मुद्दा दर्ता भएको र ती उजुरीमा करिब १ करोड १ लाख रुपैयाँ बिगो दाबी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।





प्रतिक्रिया