काठमाण्डु – कञ्चनपुरको दोधारा चाँदनी जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुलमा क्षति पुगेको छ ।
महाकाली नदीमा आएको बाढीले झोलुङ्गे पुलको एक भाग पूरै भत्काएको हो ।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौं नम्बर र दोधारा चाँदनी गाउँपालिकातर्फबाट तेस्रो नम्बरको पिलर भत्किएको हो ।
पुलमा भएको क्षतिको विस्तृत विवरण तथा क्षतिको कारणबारे भने थप प्राविधिक जाँच आवश्यक रहेको दोधारा चाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत विकले जानकारी दिए ।
भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका जोड्ने उक्त पुलको दोधारा चाँदनीतर्फको तेस्रो स्पानमा क्षति पुगेकाले विपद् व्यवस्थापन संयन्त्रले पुलको अवस्थाबारे थप निगरानी गरिरहेको विपद् सम्पर्क व्यक्ति विकले जानकारी दिए ।
पुलमा क्षति पुगेपछि यसको अवस्थाबारे स्थानीयवासीमा चिन्ता बढेको छ । महाकाली नदीमाथि निर्माण गरिएको यो झोलुङ्गे पुल दोधारा चाँदनीका लागि सामान्य आवागमनको संरचना मात्रै नभई यस क्षेत्रलाई बाँकी नेपालसँग जोड्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा रहँदै आएको छ ।
करिब डेढ किलोमिटर लामो यो पुल निर्माण हुनुअघि दोधारा चाँदनीका बासिन्दालाई जिल्ला सदरमुकाम महेन्द्रनगर तथा अन्य नेपाली भूभागमा आउजाउ गर्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । वर्षायाममा महाकालीको बहाव बढ्दा आवागमन झनै कठिन हुने गरेको थियो । यो पुल २०५८ सालमा निर्माण भएको थियो ।
महाकाली नदीमा पानीको बहाव बढ्ने र घट्ने क्रमसँगै पुलको संरचनामा असर परेको बताइएको छ । यसैबीच, दोधारा चाँदनी झोलुङ्गे पुल भएर आवागमन गर्ने व्यक्तिहरूलाई पुलको क्षतिग्रस्त भागमा सावधानी अपनाउन र जोखिमपूर्ण अवस्थामा आवागमन नगर्न कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले आग्रह गरेका छन् । पुलको मर्मतका लागि स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए ।




प्रतिक्रिया