एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार कार्यकारी आदेश जारी गर्दै आर्टिफिसियल इन्टेलिजेन्सको नाम परिवर्तन गरी ‘सुपर इन्टेलिजेन्स’ राखेका छन्।
एआई सुरक्षाबारे चिन्ता बढिरहेका बेला तथा शीर्ष एआई उद्योगका अधिकारीहरूले ह्वाइट हाउसमा राष्ट्रपतिसँग भेट गरी नियन्त्रण प्रणाली र आन्तरिक लेखापरीक्षण सुधार गर्ने प्रतिबद्धतासहित ‘नैतिक रूपमा बाध्यकारी’ सम्झौतामा हस्ताक्षर गरेको केही घण्टापछि ट्रम्पले यस्तो आदेश जारी गरेका हुन्।
‘इनअगुरेटिङ द एरा अफ सुपर इन्टेलिजेन्स’ शीर्षकको उक्त कार्यकारी आदेशले संघीय विभाग तथा निकायहरूलाई आधिकारिक पत्राचार, सार्वजनिक सञ्चार, वेबसाइट, प्रतिवेदन तथा प्रशासनिक नीतिसम्बन्धी दस्तावेजमा ‘सुपर इन्टेलिजेन्स’ र ‘ एआई शब्द प्रयोग गर्न निर्देशन दिएको छ।
आदेशमा यो परिवर्तन ‘कानुनले अनुमति दिएको अधिकतम हदसम्म’ लागू हुने उल्लेख गरिएको छ। साथै, लागू हुने आधिकारिक सन्दर्भमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ र ‘एआई’ शब्द प्रयोग भएको विषयलाई कार्यकारी शाखाले मान्यता नदिने जनाइएको छ।
तर यो आदेश विगतका अभिलेखमा भने लागू हुने छैन। विद्यमान नियम, सरकारी सम्झौता, अनुदान तथा ऐतिहासिक अभिलेखहरूलाई यस आदेशका कारण परिवर्तन गरिने छैन।
ट्रम्प प्रशासनले आधुनिक अत्याधुनिक एआई प्रणालीको क्षमता करिब ७० वर्षअघि प्रचलनमा आएको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को मूल अवधारणाभन्दा निकै अघि बढिसकेको दाबी गरेको छ।
आदेशमा भनिएको छ, ‘आजका अत्याधुनिक प्रणालीको क्षमता मानव बुद्धिमत्ताका सीमित पक्षहरूको नक्कल वा स्वचालनमा मात्र सीमित छैन। ती प्रणालीहरूले मानव सिर्जनशीलतालाई थप विस्तार गर्दै विज्ञान, चिकित्सा तथा मानव प्रयासका लगभग हरेक क्षेत्रमा पहिले असम्भव मानिएका उपलब्धि हासिल गर्न अमेरिकी नागरिकलाई सक्षम बनाइरहेका छन्।’
प्रशासनले सरकारमा प्रयोग हुने शब्दावलीले एआईका यी विस्तारित क्षमतालाई प्रतिबिम्बित गर्नुपर्ने जनाएको छ।




प्रतिक्रिया