अपराजित मार्वलस बन्यो यु–१६ बास्केटबल च्याम्पियन

अपराजित मार्वलस बन्यो यु–१६ बास्केटबल च्याम्पियन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मार्वलस इङलिस बोर्डिङ स्कुलले यु–१६ अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । मार्वलस अपराजित रहँदै च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा मार्वलसले संस्कृति इन्टरनेसनल स्कुललाई ८०–४८ ले सहजै पराजित गर्‍यो ।

मार्वलसका लागि सिनेप शाहीले २६ स्कोर गरे । उपाधिसँगै मार्वलसले २५ हजार तथा संस्कृतिले १५ हजार नगद पुरस्कार जिते ।

सुरुका ३ क्वाटरमा क्रमशः १९–६, १४–८ र २७–१२ को अग्रता बनाउदै मार्वलसले जितको महत्वपूर्ण आधार तयार गरेको थियो । अन्तिम तथा चौथो क्वाटरमा संस्कृतिले २२–२० को अग्रता लिएपनि जितका लागि पर्याप्त भएन ।

यो वर्ष मार्वलसको यो लगातार चौथो उपाधि हो । यसअघि मार्वलसले तेजस्वी, ग्रिनफिल्ड र ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेको थियो । यि तीनै उपाधि यात्रामा पनि मार्वलस अपराजित रह्यो ।

नेपाल बास्केटबल संघ, नेपालय इन्टरनेसनल र प्याब्सनको संयुक्त आयोजना तथा नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) को सहयोगमा भएको प्रतियोगितामा मार्वलसका रोशन कुश्वाहा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी, उपाध्यक्ष थकिनकुमार गुरुङ र महासविच आरबी कटुवाल, नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्का, नेपालयका अध्यक्ष सुवासचन्द्र प्रधानलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । असोज ३ गतेदेखि सुरू भएको प्रतियोगितामा ४० टिम सहभागी थिए ।