एमालेमा ओलीको ‘एकता मन्त्र’ : शत्रुको लात सहने तर आफ्नै साथीको आलोचना नसहने प्रवृत्ति बन्द गरौँ

एमालेमा ओलीको ‘एकता मन्त्र’ : शत्रुको लात सहने तर आफ्नै साथीको आलोचना नसहने प्रवृत्ति बन्द गरौँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र मतभेद बिर्सेर आन्तरिक एकता थप सुदृढ गर्दै आगामी निर्वाचनको तयारीमा जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूलाई बुधबार भर्चुअल सम्बोधन गर्दै ओलीले संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउन निर्देशन दिएका हुन्।

पार्टीभित्र एकअर्काका सामान्य असहमति र आलोचनालाई सहज रूपमा लिनुपर्ने भन्दै ओलीले आन्तरिक विवादमा अल्झिने प्रवृत्ति त्याग्न आग्रह गरे।

‘शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौँ। सानातिना असमझदारी छाडेर साझा सङ्कल्पका साथ एमाले एकजुट भई अघि बढ्नुपर्छ,’ उनले भने।

एमालेभित्र कुनै समस्या नरहेको दाबी गरेर बस्नुभन्दा संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउनुपर्ने ओलीको भनाइ थियो।

विरोधीहरूले एमाले विभाजित हुने अपेक्षा गरे पनि पार्टी विचार र संगठनका हिसाबले एकढिक्का रहेको उनले दाबी गरे।

वर्तमान राजनीतिक परिस्थितिमा लोकतान्त्रिक अधिकारको रक्षा र आगामी निर्वाचनलाई पार्टीको मुख्य प्राथमिकता बनाउनुपर्ने ओलीले बताए। उनले निर्वाचन केन्द्रित भएर संगठन परिचालन गर्न नेता–कार्यकर्तालाई निर्देशन दिए।

एक निर्वाचनको परिणामबाट निराश हुनुपर्ने अवस्था नरहेको भन्दै ओलीले भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको उदाहरण प्रस्तुत गरे।

‘हामी एउटा मोर्चामा हारेका मात्र हौँ। सत्य हाम्रै पक्षमा छ, त्यसैले आत्मविश्वासका साथ अघि बढ्नुपर्छ,’ उनले भने।

‘डिजिटल वार’ मा आक्रामक हुन निर्देशन

ओलीले एमालेविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको दाबी गर्दै सूचना प्रविधिको माध्यमबाट हुने राजनीतिक प्रचारमा पार्टीले प्रभावकारी उपस्थिति जनाउनुपर्ने बताए।

पार्टीले गरेका काम र उपलब्धिलाई जनतासम्म सही ढंगले पुर्‍याउन नेता–कार्यकर्ताले सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।

उनले आ–आफ्नो कार्यक्षेत्रमा संगठन निर्माण, जनसम्बन्ध विस्तार र पार्टी अनुशासनलाई प्राथमिकता दिन निर्देशन दिए।

सदस्यता अभिलेखीकरण

भर्चुअल बैठकमा महासचिव शङ्कर पोखरेलले तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णयहरू पार्टी निर्देशिकामार्फत छिट्टै तल्लो तहसम्म पठाइने जानकारी दिए।

उनले पार्टी सदस्यता नवीकरणको काम हाललाई रोकिएको र प्राप्त विवरणको अभिलेखीकरण असोज मसान्तसम्म पूरा गर्नुपर्ने बताए।

पोखरेलका अनुसार वडा, पालिका, जिल्ला र प्रदेश तहसम्म युवालाई पार्टीसँग जोड्ने कार्यक्रम सञ्चालन गरिनेछ।

लगातार तीनवटा बैठकमा अनुपस्थित हुने सदस्यलाई विधानअनुसार पदबाट हटाउने व्यवस्था कार्यान्वयनमा कडाइ गरिने उनले बताए।

जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन संगठनात्मक गतिविधिलाई पनि तीव्रता दिइने उनको भनाइ थियो।

भर्चुअल कार्यक्रममा पार्टी उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल तथा सचिवहरू भानुभक्त ढकाल, पद्मा अर्याललगायत नेताहरू सहभागी थिए।