पिंकवाक २०२६ मा सहभागी हुन दर्ता खुला

पिंकवाक २०२६ मा सहभागी हुन दर्ता खुला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘पिंकवाक २०२६’मा सहभागी हुन दर्ता खुला गरिएको छ ।

आयोजकका अनुसार आगामी असोज १७ गते शनिबार बिहान ६ बजे काठमाण्डुको वसन्तपुरस्थित काठमाण्डु दरबार स्क्वायरदेखि ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरसम्म पिंकवाक आयोजना हुँदैछ ।

पदयात्रामा सहभागी हुन इच्छुक व्यक्ति, संघसंस्था तथा समुदायका सदस्यले ईसेवामार्फत अनलाइन दर्ता गर्न सक्नेछन् ।

पिंकवाकमा सहभागी हुन चाहने सहभागीले https://pinkwalk.github.io/register मा गई उपलब्ध क्यूआर कोड स्क्यान गरेर आवश्यक विवरण भरी दर्ता गर्न सक्नेछन् । ईसेवा एपमार्फत पनि दर्ता गर्न सकिनेछ । त्यसका लागि ईसेवा एप खोलेर ‘भोटिङ एन्ड इभेन्ट्स’मा गई ‘पिंक वाक’ छनोट गर्नुपर्नेछ ।

स्तन क्यान्सरको प्रारम्भिक पहिचान, नियमित स्वास्थ्य परीक्षण, समयमै उपचार तथा क्यान्सर प्रभावित व्यक्ति र उनीहरूका परिवारप्रति ऐक्यबद्धताको सन्देश प्रवाह गर्ने उद्देश्यले पिंकवाक आयोजना गर्न लागिएको हो । कार्यक्रममा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति, प्रभावित परिवार, विभिन्न संघसंस्था, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

पिंकवाक २०२६ इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा आयोजना गर्दैछ । कार्यक्रममा काठमाण्डु महानगरपालिका, ललितपुर महानगरपालिका तथा नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीलगायत संस्थाको सहयोग रहेको जनाइएको छ ।

कार्यक्रममा नेसनल क्यान्सर अस्पताल, म्याक्स फाउन्डेसन, नोभाला बायोटेक, क्याम्स (सेन्टर फर अमेरिकन मेडिकल स्पेसलिस्ट्स) ले मोनाल, स्नो ड्रप्स एच२ओ, नेट टीभी, उनो, ह्याप्पी माइन्ड्स, वाउ (वर्ल्ड अफ विमेन), जीभी, बर्स्ट निम्बू फिज्ज, हिमालयन जाभा, स्मृतिपत्र, झिगु नेवा: बाजं खल:, पठाओ, क्यूएफएक्स, ईसेवा, बज्र नास: खल:, ताल नृत्य भूमि, आईएसएस, वानपसल, क्रेयन्स् कोर्प तथा काठमाण्डु पोस्टलगायत विभिन्न संस्था तथा व्यवसायले साझेदारी गरेका छन् ।

आयोजकले स्तन क्यान्सर विरुद्धको सचेतना अभियानमा सामूहिक सहभागिता र ऐक्यबद्धता जनाउन सबैलाई पिंकवाक २०२६ मा सहभागी हुन आग्रह गरेको छ ।