बागलुङमा बाढीपहिरोको वितण्डा, १२ जनाको मृत्यु

बागलुङमा बाढीपहिरोको वितण्डा, १२ जनाको मृत्यु

६१ घर–गोठ बगे, ५१ घरमा आंशिक क्षति, एक जना अझै बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ – बागलुङमा असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले ठूलो जनधनको क्षति गरेको छ। बाढीपहिरोमा परी जिल्लाका विभिन्न स्थानमा हालसम्म १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्।

जिल्ला प्रशासन कार्यालयको अद्यावधिक विवरणअनुसार बाढीपहिरोले जिल्लाभर ५१ घर र १० गोठ गरी ६१ घर–गोठ बगाएको छ। थप ५१ घरमा आंशिक क्षति पुगेको छ। निसीखोला र तमानखोला गाउँपालिका बढी प्रभावित भएका छन्।

मानवीय क्षतिको विवरण हेर्दा ताराखोलामा तीन, तमानखोलामा चार र निसीखोलामा पाँच जनाको मृत्यु भएक छ। निसीखोलामा पाँच जनाको मृत्यु हुनुका साथै तमानखोलाको पहिरोमा एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।

ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुर्दा ५५ वर्षीय दिलबहादुर पुन र उहाँकी ७९ वर्षीया सासु नरमाया रोकाको मृत्यु भएको थियो। पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन्। यसअघि सोही गाउँपालिकामा एक जनाको मृत्यु भएको थियो।

बाढीपहिरोले जिल्लाका विभिन्न स्थानीय तहमा सडक, पुल, वडा कार्यालय तथा अन्य भौतिक संरचनामा समेत क्षति पुर्‍याएको छ। दरमखोलाको कटानले गलकोट नगरपालिका–९ को वडा कार्यालयमा क्षति पुगेको छ भने तीनवटा झोलुङ्गे पुल बाढीले बगाएको र दुई प्रहरी कार्यालयमा आंशिक क्षति पुगेको प्रशासनको विवरण छ।

यसैबीच कालीगण्डकी नदीमा आएको भीषण बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलमा क्षति पुर्‍याएपछि आवतजावत ठप्प भएको थियो। पुलको पर्वततर्फको जगमा क्षति पुगेपछि सडक सञ्जाल प्रभावित भएको हो। बुधबारदेखि पुल मर्मतको काम सुरु गरिएको र करिब एक साताभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको सडक डिभिजन पोखराले जनाएको छ।

बाढीपहिरोका कारण पश्चिम बागलुङतर्फका सडक तथा यातायात सेवासमेत प्रभावित भएका छन्। कतिपय स्थानमा सडक अवरुद्ध हुँदा स्थानीयको आवतजावत, दैनिक उपभोग्य सामग्रीको ढुवानी तथा अन्य सेवा प्रभावित भएको छ।

विपद्बाट प्रभावित परिवारलाई स्थानीय तह तथा सम्बन्धित निकायले राहत वितरण सुरु गरेका छन्। निसीखोला गाउँपालिकाले मृतकका परिवारलाई नगद राहतसहित पूर्ण तथा आंशिक क्षति भएका परिवारलाई समेत आर्थिक तथा खाद्यान्न सहयोग उपलब्ध गराउन थालेको छ।

अविरल वर्षाका कारण नदी तथा खोलानालाको बहाव बढ्ने जोखिम कायमै रहेकाले प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा थप सतर्कता अपनाउन आवश्यक देखिएको छ। बाढीपहिरोबाट भएको क्षतिको विवरण संकलन तथा खोज, उद्धार र राहतको काम जारी रहेको छ ।