काठमाण्डु – झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनका कारण एमालेले बिहीबार आयोजना गरेको केन्द्रीय सदस्यहरुको सपथ ग्रहण स्थगित भएको छ ।
पार्टी केन्द्रीय कार्यलय सचिव डा. भिष्म अधिकारीका अनुसार दिउँसो ३ बजे पार्टी कार्यलय च्यासलमा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रम शुक्रबार दिउँसो ३ बजेलाई सारिएको हो ।
एमालेले असोज ५ देखि ८ गतेसम्म आयोजना गरेको केन्द्रीय कमिटीबाट ३३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।
यसैबीच नेता बस्नेतलाई अन्तिम श्रद्धान्जली दिन अध्यक्ष केपी शर्मा ओली दुवाकोटस्थित क्यान्सर अस्पताल पुगेका छन् ।
ओलीले बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा र पुष्पगुच्छा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
२००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेत झापा आन्दोलनका अगुवा नेतामध्ये एक थिए। पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक संघर्षका क्रममा उनले करिब १७ वर्ष जेलजीवन बिताएका थिए। लामो समयदेखि क्यान्सर रोगबाट पीडित बस्नेतको गएराती उपचारका क्रममा निधन भएको हो ।
उनी एमालेका तर्फबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । बस्नेत २०४८ को आमनिर्वाचनमा संखुवासभा–२ र २०५६ मा भोजपुर–१ बाट निर्वाचित भएका थिए । पछिल्लो समय एमाले विभाजन हुँदा उनी माधवकुमार नेपालसँगै लागेर नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष बनेका थिए ।
एकीकृत समाजवादी र माओवादी केन्द्र एकता हुँदा भने उनी घनश्याम भुसालसँगै नेकपा संयुक्तमा लागेका थिए ।




प्रतिक्रिया