एजेन्सी– दुबईबाट तेल अभिभतर्फ उडेको एक विमानका एक पाइलटले अर्का पाइलटमाथि चक्कु प्रहार गरेपछि विमानलाई बुधबार साउदी अरबतर्फ डाइभर्ट गरिएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन्। उनले ती पाइलटले विमान दुर्घटनाग्रस्त गराउने प्रयास गरेको हुनसक्ने पनि बताएका छन्।
नेतान्याहुका अनुसार चक्कु प्रहार गर्ने पाइलटलाई पक्राउ गरिएको छ र साउदी अधिकारीहरूले उनीसँग सोधपुछ गरिरहेका छन्।
चक्कु प्रहारमा परेका पाइलट भारतीय नागरिक क्याप्टेन स्मित मच्छरलाई विमान अवतरणपछि अस्पताल लगिएको थियो। इजरायली प्रधानमन्त्री नेतान्याहुले उनलाई पछि ‘नायक’को संज्ञा दिएका छन्।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले उक्त घटनालाई ‘जिहादी आतंकवादी हमलाको प्रयास’ भनेका छन्। यद्यपि, घटनाको उद्देश्यबारे प्रहरी, आपत्कालीन सेवा वा अनुसन्धानकर्ताबाट हालसम्म आधिकारिक धारणा सार्वजनिक नभएको बीबीसीले जनाएको छ।
के भएको थियो ?
फ्लाईदुबईको एफजेड १०७३ उडान संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट ०३ः०५ जीएमटी (स्थानीय समयअनुसार बिहान ७ः०५ बजे) इजरायलको बेन गुरियन विमानस्थलका लागि उडेको थियो।
विमानमा कम्तीमा १५० जना यात्रु तथा चालक दलका सदस्य रहेको बताइएको छ। नेतान्याहुका अनुसार यात्रुमध्ये ‘लगभग सबै’ इजरायली नागरिक थिए।
उडान ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४ को तथ्यांकअनुसार उडान भरेको करिब साढे दुई घण्टापछि साउदी अरबमाथि विमानले तीव्र रूपमा उचाइ घटाएको थियो। बिहान करिब ०५ः२१ बजे दुई मिनेटभन्दा कम समयमा विमान १७ हजार फिट (५ हजार मिटरभन्दा बढी) तल झरेको थियो।
त्यसको केही मिनेटपछि विमानले आपत्कालीन संकेत ‘स्क्वाक ७७००’ प्रसारण गरेको थियो। त्यसपछि उक्त संकेत परिवर्तन गरी विमान अपहरण भएको जनाउने ‘स्क्वाक ७५००’ कोड प्रयोग गरिएको थियो।
बिहान ०५ः४० बजे केही समय जोर्डनको हवाई क्षेत्रमा प्रवेश गरेको विमान पुनः साउदी अरबतर्फ फर्किएको थियो। त्यसपछि विमानले म्यानुअल रूपमा अवतरणका लागि उचाइ घटाउन थालेको थियो।
त्यसको एक घण्टाभन्दा कम समयपछि विमानले पुनः ‘स्क्वाक ७७००’ आपत्कालीन संकेत प्रयोग गरेको थियो।
स्थानीय सञ्चारमाध्यमका प्रारम्भिक रिपोर्टमा इजरायली अधिकारीलाई उद्धृत गर्दै दुई पाइलटबीच झगडा भएको बताइएको थियो।
तर, घटनापछि बुधबार बोल्दै प्रधानमन्त्री नेतान्याहुले पछि सार्वजनिक भएका रिपोर्टहरू पुष्टि गर्दै एक पाइलटले अर्का पाइलटमाथि चक्कु प्रहार गरेको र त्यसपछि विमान ‘दुर्घटनाग्रस्त गराउने प्रयास गरेको हुनसक्ने’ बताएका छन्।




प्रतिक्रिया