काठमाण्डु- अर्जेन्टिनाले घरेलु मैदानमा सुरु भएको तीन खेलको मैत्रीपूर्ण शृंखलाको पहिलो खेलमा बोलिभियामाथि ४–० को शानदार जित निकालेको छ।
मारियो अल्बेर्टो केम्पेस स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेज, निको पाज, क्रिस्टियन रोमेरो र जोसे लोपेजले गोल गरे।
अर्जेन्टिनाले १५औँ मिनेटमै अग्रता लिएको थियो। एलेक्सिस म्याक एलिस्टरको उत्कृष्ट पासमा लाउतारो मार्टिनेजले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए।
पहिलो हाफ सकिनुअघि अर्जेन्टिनाले अग्रता दोब्बर बनायो। एक्सेकियल पालासियोसको पासमा निको पाजले गोलरक्षक गुइलेर्मो भिस्करालाई छक्याउँदै गोल गरे।
दोस्रो हाफमा पनि अर्जेन्टिनाले खेलमा आफ्नो नियन्त्रण कायम राख्यो। ५३औँ मिनेटमा पाजले प्रहार गरेको कर्नरमा क्रिस्टियन रोमेरोले हेडमार्फत गोल गर्दै अर्जेन्टिनाको अग्रता ३–० मा पुर्याए।
खेलको अन्तिम चरणमा जोसे लोपेजले अर्जेन्टिनाका लागि चौथो गोल गरे। रिबाउन्डमा प्राप्त अवसरलाई सदुपयोग गर्दै लोपेजले सिनियर राष्ट्रिय टोलीका लागि आफ्नो पहिलो गोल गरेका हुन्।
प्रशिक्षक लियोनेल स्कालोनीले यस खेलमा अनुभवी विश्वकप विजेता खेलाडीका साथै युवा खेलाडीलाई पनि अवसर दिएका थिए। अगुस्टिन जियाय र जियानलुका प्रेस्टियानीजस्ता युवा खेलाडीले पनि खेल्ने मौका पाए।
अर्जेन्टिनाले खेलभर बलमाथि राम्रो नियन्त्रण राख्दै लगातार आक्रमण सिर्जना गरेको थियो। बोलिभियाले अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजलाई खासै दबाबमा पार्न सकेन।
यस जितसँगै अर्जेन्टिनाले विश्वकपपछिको घरेलु मैत्रीपूर्ण शृंखलाको प्रभावशाली सुरुवात गरेको छ।




प्रतिक्रिया