काठमाण्डु– अमेरिकी दूतावासका क्षेत्रीय सुरक्षा अधिकारी विल भनले नेपाल प्रहरीलाई डीएनए परीक्षणका लागि आवश्यक सामग्री हस्तान्तरण गरेका छन् ।
नेपालको र्यापिड डीएनए प्रणालीलाई सहयोग पुर्याउन अमेरिकाले उपलब्ध गराएको १० लाख अमेरिकी डलर बराबरको सहयोगअन्तर्गत उक्त सामग्री हस्तान्तरण गरिएको हो।
अमेरिकाको भर्जिनियास्थित मिडलटाउनमा रहेको अमेरिकी कम्पनी थर्मो फिसर साइन्टिफिकले उत्पादन गरेका यी सामग्रीले नेपालका फरेन्सिक टोलीलाई जारी डीएनए परीक्षण विस्तार गर्न सहयोग गर्नेछन्।
यसबाट बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिको पहिचान गर्न र आफ्ना प्रियजनको खबरको प्रतीक्षामा रहेका परिवारलाई जवाफ दिन सहयोग पुग्नेछ।
यसमा अमेरिकी नागरिकका परिवारसहित यस त्रासदीबाट प्रभावित सबै परिवार समावेश छन्।
अमेरिकाले नेपालमा आएको बाढीको प्रतिकार्यमा फरेन्सिक पहिचान, आपत्कालीन राहत, रसद व्यवस्थापन, स्वास्थ्य तथा पुनःस्थापनालगायत विभिन्न क्षेत्रमा सहयोग गरिरहेको छ।
हालसम्म अमेरिकाले नेपालको बाढी प्रतिकार्य तथा पुनःस्थापना प्रयासका लागि ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहयोग प्रतिबद्धता जनाएको छ।




प्रतिक्रिया