काठमाण्डु- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वालेन्द्र शाह नेतृत्वको सरकारले ६ महिना पूरा गर्दा पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै आङ्देम्बेले बलियो सरकार खोजेका जनताले कमजोर शासन भोग्नुपरेको बताए।
‘हामीले अहिले बलियो सरकार खोजेका हौँ, तर यो सरकार किन कमजोर शासन गरिरहेको छ ?’ उनले प्रश्न गरे।
उनले सरकारले सुशासन दिनुको सट्टा नेतृत्वको अहंकार र हुकुमी दम्भ देखाएको आरोप लगाए। ‘हामीले सुशासनको सरकार खोजेका हौँ । तर यो सरकारको नेतृत्वको अहंकार र हुकुमी दम्भ देखिएको छ। हामीले त्यस्तो शासन खोजेको होइन,’ उनले भने।
सरकार नेतृत्वको इच्छाअनुसार शासन चलाउने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ थियो। ‘सरकारको नेतृत्वको इच्छाको शासन हामीलाई चाहिएको होइन,’ उनले भने, ‘झिना मसिना कुरामा अल्झिँदै गएमा नेपालीको सपना फगत मृगतृष्णा हुन्छ।’
आङ्देम्बेले सरकारमा शासकीय कार्यकौशलताको अभाव रहेको दाबी गरे। ठूलो शासकीय परिवर्तनको अपेक्षा गरेका जनताका लागि सरकारको पछिल्लो ६ महिना संक्रमणकालीन समयजस्तै बनेको उनको भनाइ थियो।
‘ठूलो शासकीय परिवर्तन खोजेका जनतालाई यो ६ महिना संक्रमणकालीन समयजस्तै भएको छ। कुनै उपलब्धि हुन सकेको छैन,’ उनले भने।
सरकारलाई धरातलीय यथार्थको जानकारी भए पनि त्यसअनुसार काम गर्न नसकेको उनले बताए। उनका अनुसार सरकारसँग स्पष्ट जनादेश भए पनि त्यसलाई प्रभावकारी शासनमा रूपान्तरण गर्ने क्षमता देखिएको छैन।
‘धरातलीय यथार्थको ज्ञान छ। तर किन काम गर्न सक्दैन सरकार ? स्पष्ट जनादेश छ, तर शासकीय कौशल छैन,’ आङ्देम्बेले भने।
बहुमतबाट सरकार गठन गर्न सकिने भए पनि जनताको विश्वास कायम राख्न त्यति मात्र पर्याप्त नहुने उनको भनाइ थियो।
‘बहुमतले सरकार बनाउन सक्छ, तर जनताको विश्वास टिकाउन सक्दैन,’ उनले भने।
आङ्देम्बेले सरकार राज्यका तीनै तह, संसद् तथा संवैधानिक निकायलाई आफ्नो प्रभावमा राख्ने दिशामा अघि बढेको आरोपसमेत लगाए। जनमतको सम्मान नगरी सरकार अघि बढेको उनको दाबी थियो।




प्रतिक्रिया