काठमाण्डु– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको पछिल्लो ६ महिनाको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै बहुमतको बलमा मात्रै मुलुक सञ्चालन गर्न नसकिने पुष्टि भएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आङदेम्बेले संसद्मा संख्या र शक्ति हुँदैमा सरकार सफल नहुने भन्दै जनताको अपेक्षाअनुसार परिणाम दिन प्रधानमन्त्रीलाई चुनौती दिए ।
‘तपाईंसँग संख्या छ, शक्ति छ । तर शक्तिलाई परिणाममा बदल्ने तपाईंसँग कौशलता छ ?’, प्रधानमन्त्री शाहलाई प्रश्न गर्दै उनले भने, ‘संख्याले सरकार टिकाउन त सक्ला तर जनताको आशा टिकाउन सक्दैन ।’
आङदेम्बेले प्रधानमन्त्रीले एक्लै मुलुकका समस्या समाधान गर्न नसक्ने भन्दै निजी क्षेत्र, युवा, प्रदेश तथा स्थानीय सरकार र राजनीतिक दललाई साथमा लिएर अघि बढ्न सुझाव दिए ।
कुनै एक व्यक्ति, एक दल र कुनै एक सरकारसँग नेपालको सबै समस्याको समाधान हुँदैन,’ उनले भने, ‘राष्ट्रिय मुद्दामा राजनीतिक दलहरूबीच सहकार्यको संस्कृति विकास गर्नुपर्छ ।’
उनले सरकारको पछिल्लो ६ महिनाको कार्यशैलीले जनतामा गरिएको अपेक्षा र वास्तविकताबीचको अन्तर देखाउन थालेको बताए ।
‘बितेको ६ महिनाको समयले देखाएको छ, आम जनताको अपेक्षाअनुरूप तपाईंसँग कुनै जादुको छडी थिएन,’ उनले भने, ‘हामीलाई यो कुरा पहिल्यै थाहा थियो । तर, त्यस्तै खालको भ्रम दिइएको थियो । आम जनताको भ्रमको पर्दा विस्तारै उघारिँदै गएको अहिलेको अवस्था हो ।’
सरकारको यही कार्यशैली कायम रहे त्यसको परिणाम चाँडै देखिन सक्ने चेतावनीसमेत उनले दिए । ‘यही क्रम रहे यसको पटाक्षेप पनि छिट्टै नहोला भन्न सकिन्न । सचेत रहनुस्,’ आङदेम्बेले भने ।
आङदेम्बेले संसद्मा रहेको बहुमतलाई सरकारको शक्ति भए पनि त्यसलाई जनताको जीवनमा देखिने परिणाममा बदल्नु सरकारको परीक्षा भएको बताए ।
‘संख्याले कानुन पारित गर्न पुग्छ, तर जनविश्वास आर्जन र शासकीय कार्यमा वैधता दिन सक्दैन । संख्याले बजेट पारित गर्न त सक्ला तर, रोजगारी सिर्जना गर्न सक्दैन,’ उनले भने ।
उनले नेपाललाई अब राजनीतिक परिवर्तनका नाममा अर्को आन्दोलन नभई शासनबाट प्रत्यक्ष परिणाम चाहिएको बताए ।
‘लोकप्रियता होइन, परिणाम चाहिएको छ । एकाधिकार र अधिनायकवाद होइन, सहकार्य चाहिएको छ । सामाजिक सञ्जालबाट घोषणा होइन, वास्तविक कार्यान्वयन चाहिएको छ,’ उनले भने, ‘निराशामा रहेका जनतालाई सरकार छ भन्ने भरोसा चाहिएको छ ।’
उनले सार्वजनिक सेवा, शान्ति सुरक्षा, विकास र समुन्नतिको क्षेत्रमा सरकारको कार्यसम्पादन कमजोर देखिएको टिप्पणी गरे ।
‘पछिल्लो ६ महिनाको शासकीय अभ्यासको सूचकमा हामी पुछारतिर कतै अल्मलिएको अनुभूति भइरहेको छ,’ उनले भने, ‘यसरी त हामी सार्वजनिक सेवाको वितरण, शान्ति सुरक्षा तथा विकास र समुन्नतिको पथमा धेरै पछि छुट्ने देखियो ।’




प्रतिक्रिया