पाइलटले नै फ्लाईदुबईको विमान खसाल्न खोजेपछि यात्रुले लिए ककपिटको कमान्ड, खुल्दैछन् रहस्यका पर्दा

पाइलटले नै फ्लाईदुबईको विमान खसाल्न खोजेपछि यात्रुले लिए ककपिटको कमान्ड, खुल्दैछन् रहस्यका पर्दा

इजरायलको आशंका इरानतिर, मुश्किलले जोगिए १७४ यात्रु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको फ्लाईदुबईको विमानका को-पाइलटले ककपिटमै अर्का पाइलटलाई चक्कु प्रहार गरेको घटना अहिले विश्वभर चर्चामा छ ।

यद्यपि, घटनापछि विमानलाई साउदी अरबतर्फ सुरक्षित डाइभर्ट गरिएको थियो । विमानमा १७४ जना सवार थिए । ती सबै अहिले सुरक्षित रहेको फ्लाई दुबईले जनाएको छ ।

यसरी भयो घटना

फ्लाईदुबईको एफजेड१०७३ उडान बुधबार दुबईबाट तेल अभिभतर्फ जाँदै थियो । विमानका को-पाइलटले मुख्य पाइलटमाथि आक्रमण गरेपछि विमान तीव्र गतिमा तल झरेको थियो

जोर्डनको हवाई क्षेत्रमाथि उडिरहेको बेला ती को-पाइलटले कप्तानमाथि आक्रमण गरेर विमानलाई नियन्त्रणबाहिर लैजान खोजेको बताइएको छ । घटनापछि विमानलाई साउदी अरबको ताबुक विमानस्थलमा सुरक्षित अवतरण गराइएको थियो ।

घटनापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले घटनाको उद्देश्यबारे निष्कर्ष निकाल्न अहिले नै हतार हुने बताएका छन् । इरानको संलग्नताबारे उनले घटनाको अनुसन्धान भइरहेको र इजरायलले पनि अनुसन्धानमा सम्भावित रूपमा सहभागी हुन सक्ने बताएका छन् ।

‘यो घटनाको मूल कारण र उद्देश्यबारे अहिले नै भन्न हतार हुन्छ । आक्रमण गर्ने पाइलटलाई साउदी अरबमा अनुसन्धान भइरहेको छ,’ नेतन्याहुले फक्स न्युजलाई भनेका छन् ।

उडानका क्रममा विमान करिब ३० सेकेन्डमै १४ हजार फिट (४,२६७ मिटर) तल झरेको फ्लाइट–ट्र्याकिङ तथ्यांकले देखाएको छ ।

करिब ०५ः३१ जीएमटीमा विमानबाट सामान्य आपत्कालीन संकेत ७७०० जारी गरिएको थियो । त्यसको केही मिनेटपछि संकेत परिवर्तन गरी ७५०० बनाइएको थियो, जसले विमानमा ‘अनधिकृत हस्तक्षेप’ भएको जनाउँछ ।

घटनापछि यात्रु र चालक दलका सदस्यहरूले आक्रमणकारी पाइलटलाई नियन्त्रणमा लिन सफल भए । विमानमा रहेका अर्का पाइलटले अन्ततः विमानलाई साउदी अरबको ताबुकमा अवतरण गराए ।

ताबुक विमानस्थलका अधिकारीहरूका अनुसार विमानका कप्तान र पहिलो अधिकृत दुवै घाइते भएका थिए। उनीहरूलाई अस्पताल लगिएको थियो ।

साउदी अरबस्थित भारतीय दूतावासले घाइते कप्तानको पहिचान भारतीय नागरिक स्मित मच्छरका रूपमा गरेको छ । दूतावासका अनुसार उनको ताबुकस्थित अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था स्थिर छ ।

इजरायली प्रधानमन्त्री नेतन्याहुले यात्रुहरूको ज्यान जोगाउन मच्छरले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनका अनुसार ककपिटबाट बाहिर निस्कन सफल भएपछि यात्रु र चालक दलले आक्रमणकारीलाई नियन्त्रणमा लिन सकेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मच्छरको प्रशंसा गर्दै उनलाई ‘हिरो’ भनेका छन् ।

यात्रुले कसरी विमान नियन्त्रणमा लिए ?

एक पाइलटले अर्कामाथि आक्रमण गरी विमान खसाल्न खोजेको दाबी इजरायली अधिकारी र यात्रुहरूले गरेका हुन् । यूएई र साउदी अधिकारीहरूले यसलाई पुष्टि गरेका छैनन् । घाइते पाइलटले नै ककपिटको ढोका खोलेका थिए । क्याबिनमा यात्रुका रूपमा बसेका दुई अन्य पाइलटले विमान अवतरण गराएका थिए ।

विमानभित्र खिचिएको भिडियोमा घाइते पाइलट र एक यात्रु घाइते अवस्थामा देखिएका छन् । यात्रुहरूका अनुसार विमान असामान्य रूपमा तल झर्न थालेपछि केही यात्रु ककपिटतर्फ प्रवेश गरे । त्यसपछि यात्रु र चालक दलले आक्रमणकारी पाइलटलाई नियन्त्रणमा लिएका थिए ।

एक यात्रुकी आमाले आफ्नी छोरीले विमान नियन्त्रण गुमाउँदै गएको महसुस गरेको र आफू मर्न लागेको ठानेको बताएकी छन् ।

घटनाको वास्तविक उद्देश्य अहिलेसम्म स्पष्ट भएको छैन । नेतन्याहुले आक्रमणकारीका सम्भावित सहयोगी थिए कि थिएनन् ? घटनामा इरानको कुनै भूमिका थियो कि थिएन भन्ने विषय पनि अनुसन्धानबाट खुल्ने बताएका छन् ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले प्रारम्भिक जानकारीका आधारमा आक्रमणकारीले विमान दुर्घटनाग्रस्त गराएर सबै यात्रुको ज्यान लिन खोजेको दाबी गरेका छन् । एक इजरायली अधिकारीले आक्रमणकारी ओमानी नागरिक भएको बताएका छन् ।

तर फ्लाईदुबईले घटनाको कारण र उद्देश्यबारे औपचारिक अनुसन्धान पूरा नभएसम्म अनुमान नगर्न आग्रह गरेको छ । दुबईबाट तेल अभिभतर्फकै अर्को फ्लाईदुबई उडान एफजेड१०८१ पनि डाइभर्ट भएको खबर इजरायली सञ्चारमाध्यममा आएको थियो । तर द टाइम्स अफ इजरायलका अनुसार त्यो खबर गलत थियो ।

उक्त विमानले कुनै आपत्कालीन संकेत जारी गरेको थिएन र निर्धारित मार्गमै तेल अभिभतर्फ गइरहेको थियो । फ्लाइट–ट्र्याकिङ वेबसाइटमा आएको प्राविधिक समस्याका कारण भ्रम सिर्जना भएको बताइएको छ ।

ताबुकमा अवतरण गरेपछि यात्रुहरूलाई अर्को विमानमार्फत तेल अभिभ पठाइएको थियो । अधिकांश यात्रु इजरायली नागरिक थिए ।

विमान तेल अभिभ पुगेपछि यात्रुका परिवारहरूलाई विमानस्थलमा बोलाइएको थियो । सुरक्षा अधिकारीहरूले यात्रुहरूसँग घटनाबारे जानकारी लिएका थिए ।

घटनामा पाइलटले आक्रमण गर्नुको वास्तविक उद्देश्य तत्काल स्पष्ट हुन सकेको छैन । आक्रमणको आरोप लागेका पाइलटसँग साउदी अधिकारीहरूले सोधपुछ गरिरहेका थिए ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले भने प्रारम्भिक जानकारीअनुसार आक्रमणकारीले विमान दुर्घटनाग्रस्त गराई त्यसमा सवार सबैको ज्यान लिन खोजेको बताएका छन् । उनले घटनालाई ‘जिहादी आतंकवादी आक्रमणको प्रयास’ का रूपमा वर्णन गरेका छन् । यद्यपि, यो प्रारम्भिक दाबी हो र घटनाको औपचारिक अनुसन्धान जारी छ ।

एक इजरायली अधिकारीले आक्रमणकारी ओमानी नागरिक भएको बताएका छन् । उनको नाम सार्वजनिक गरिएको छैन ।

इजरायल र ओमानबीच औपचारिक कूटनीतिक सम्बन्ध छैन । ओमानले प्यालेस्टिनी अधिकारको मुद्दा उठाउँदै इजरायलसँग सम्बन्ध सामान्यीकरण गरेका क्षेत्रका अन्य देशहरूको समूहमा सामेल भएको छैन । त्यस्तै, साउदी अरबले पनि प्यालेस्टिनी राज्यको स्थापना स्वीकार गर्नुपर्ने सर्तसहित इजरायलसँग सम्बन्ध सामान्यीकरणको विषय अघि सारेको छ ।

नेतन्याहुले इजरायली तथा विदेशी विमान कम्पनीका विमानमा सुरक्षा व्यवस्था थप कडा बनाउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका थिए ।

तर विपक्षी नेता यायर ल्यापिडले नेतन्याहुका राजनीतिक सहयोगीहरूले उक्त घटनालाई इजरायलमाथि सम्भावित आक्रमणबारे एक दिनअघि जारी गरिएको चेतावनीसँग जोड्न खोजेको आरोप लगाएका छन् ।

घटना इजरायलमा अक्टोबरको अन्त्यमा हुने निर्वाचनको केही साताअघि भएको हो । मंगलबार नेतान्याहुले निर्वाचनअघि इजरायलका शत्रुहरूले आक्रमणको प्रयास गर्न सक्ने संकेत गरेका थिए । ल्यापिडका अनुसार विदेशमा हुन सक्ने गतिविधिबारेको सुरक्षा चेतावनी दुई वर्षभन्दा बढी समयदेखि लागू रहेको र त्यसको विमानमा भएको घटनासँग सम्बन्ध नरहेको थियो ।

उनले घटनाका क्रममा यात्रु र इजरायली नागरिकलाई जोगाउन भूमिका खेलेका व्यक्तिहरूको बहादुरीलाई राजनीतिक रूपमा प्रयोग गर्न खोजिएको आरोप पनि लगाए ।

आक्रमणको उद्देश्य अझै थाहा छैन । यो इजरायलीलाई लक्षित गरिएको आक्रमण थियो कि थिएन, त्यो पनि स्पष्ट छैन ।

इजरायल सरकारका केहीले यस्तो निष्कर्ष निकालिसकेका छन्, तर अधिकारीहरूले यो पुष्टि नभएको बताएका छन् ।

आक्रमणकारीको हालको अवस्था र उनीमाथि के कारबाही हुन्छ भन्ने कुरा पनि खुलेको छैन ।