काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले पछिल्लो ६ महिनामा सरकारले सुशासन र सेवा प्रवाह सुधारका क्षेत्रमा काम अघि बढाएको दाबी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै पराजुलीले नागरिकले सरकारी सेवा लिन पहुँच वा घुसको सहारा लिनुपर्ने अवस्थाको अन्त्य गर्ने दिशामा सरकार अघि बढिरहेको बताए।
उनका अनुसार कर्मचारी सरुवामा डिजिटल प्रणाली, लाइसेन्स तथा राहदानी घरमै पुर्याउने सेवा, भूमि प्रशासनका सेवा स्थानीय तहसम्म विस्तार र भूमिहीनलाई लालपुर्जा वितरणजस्ता काम नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सुधार हुन्।
‘जनताका सबै आकाङ्क्षाहरू एकैचोटि पूरा गर्न नसकिएलान्, तर आशालाई यथार्थमा बदल्ने हाम्रो प्रतिबद्धता कायम छ । न्याय क्षेत्र, सुरक्षा संयन्त्र, कर्मचारी प्रशासनदेखि संवैधानिक निकायसम्म दलीय हस्तक्षेपले कमजोर बनाएको प्रणालीलाई विधि, निष्पक्षता र जवाफदेहितामा उभ्याउन निश्चित रूपमा समय त लाग्छ नै। सरुवादेखि बढुवा र नियुक्तिसम्म मूल्य तोकेर गरिएको आर्थिक चलखेल र भागबन्डाका गुनासाले जनताको भरोसा कति कमजोर बनाएको थियो, हामी सबै त्यसका साक्षी छौँ।’
पराजुलीले सरुवा, बढुवा र नियुक्तिमा हुने आर्थिक चलखेल तथा भागबन्डाले विगतमा प्रणालीप्रतिको जनविश्वास कमजोर बनाएको उल्लेख गर्दै त्यसलाई विधि र जवाफदेहितामार्फत सुधार गर्न समय लाग्ने बताए।
सरकारले बाँकी फाइल समय तोकेर टुंग्याउने अभियान, सचिवसँग कार्यसम्पादन सम्झौता, राष्ट्रिय सदाचार नीति स्वीकृति तथा सार्वजनिक जग्गा र सहकारीसम्बन्धी प्रतिवेदन कार्यान्वयन अघि बढाएको उनको भनाइ छ।
खुला आवेदनमार्फत राजदूत सिफारिस गर्ने प्रक्रियाले योग्यतालाई प्राथमिकता दिएको पनि उनले बताए।
उनले थपे, ‘खुला आवेदनमार्फत राजदूत सिफारिस गर्ने प्रक्रियाले पनि योग्यतालाई प्राथमिकता दिने दिशा देखाएको छ। सुशासनका लागि भएका यी काममा सरकारलाई धन्यवाद दिन किन कन्जुस्याइँ गर्नेरु अझ धेरै गर्न बाँकी छ। सरकार प्रतिबद्ध छ र निरन्तर लागिरहेको छ। सुशासनको वास्तविक प्रमाण सुनिन थालेको छ, कसैलाई चिन्नुपरेन, घुस दिनुपरेन, मेरो काम समयमै भयो भनेर नागरिकले भन्न थालेका छन् ।’
पराजुलीले जायज कामका लागि कसैले घुस मागे विवरणसहित जानकारी गराउन नागरिकलाई आग्रह गर्दै सामाजिक सञ्जालमा आलोचना गर्दा तथ्य, तर्क र मर्यादा कायम गर्न पनि अपिल गरे।
उनले सामाजिक सञ्जालमा आफ्ना विचार व्यक्त गर्दा जिम्मेवार र मर्यादित भएर गर्न आग्रह गरे ।
‘आम नागरिकसमक्ष पनि एउटा अपिल गर्न चाहन्छु । सामाजिक सञ्जालमा आफ्ना विचार व्यक्त गर्दा जिम्मेवार र मर्यादित बनौं। आलोचना गर्ने अधिकार सबैलाई छस त्यसको प्रयोग तथ्य, तर्क र मर्यादासहित हुनुपर्छ। क्षुद्र टिप्पणी र तुच्छ गालीले आफ्नो स्वार्थ वा क्षणिक सन्तुष्टि त पूरा होला, तर त्यसले अर्को व्यक्तिको सम्मान, मर्यादा र मानवाधिकारमा कस्तो आघात पुऱ्याउँछ भन्ने हेक्का राख्नुपर्छ। होच्याउने नियतले गरिने गाली र कानुनले निषेध गरेको बेइज्जती दण्डनीय कसुर हुन् भन्ने पनि बिर्सनु हुँदैन । विधिको शासनमा कानुनी जवाफदेहिताबाट उम्कने छुट कसैलाई छैन। प्रत्येक नागरिक र विशेष गरी राजनीतिक दलको जिम्मेवारी सम्हालेकाहरूले आफ्नो बोली र व्यवहारमा संयम र जवाफदेहिता देखाउनुपर्छ । कुनै पनि पार्टीको कुनै पनि तहमा नेतृत्व सम्हालेका व्यक्तिलाई कसैको मानवीय मर्यादा कुल्चिने र चरित्रहत्या गर्ने छुट हुनै सक्दैन ।’ उनले भने ।
यस्तै उनले अन्त्यमा बाढीपहीरो पीडितको मुहारमा तुरुन्तै मुस्कान फर्काउन नसकेपनि उनीहरूको आँसु पुछ्ने इमानदार प्रयास गर्नुपर्ने बताए ।
पराजुलीले भने ‘महाविपत्ति र त्यसपछिको अविरल वर्षाले दिएको पीडाबीच दसैँ, नेपाल संवत्, तिहार र छठजस्ता हाम्रा प्रमुख चाडपर्वहरू नजिकिँदै छन् । तर आज सयौं बालबालिकाले आफ्ना अभिभावक गुमाएका छन्, कैयौं आमाबुबाले सन्तान गुमाएका छन् र हजारौंको परिवार नै उजाडिएको छ। यतिखेर उनीहरूसँग न त ओत लाग्ने छानो छ, न त घर उभिएको जमिन नै बाँकी छ ।’
‘हामी चाड मनाउन घर फर्कने तयारी गरिरहँदा, कतिपय पीडितको फर्कने घर र पर्खने आफन्त दुवै गुमेका छन् । विपद्ले भत्काएका पुल फेरि बन्नेछन्स बगाएका सडकहरू फेरि खुल्नेछन् । तर गुमेका प्रियजनहरू कहिल्यै फर्कने छैनन्। प्रियजन र परिवारका सदस्य गुमाउनुको पीडालाई हामी बदल्न सक्दैनौं । पीडितको मुहारमा तुरुन्तै मुस्कान फर्काउन नसकौँला, तर उहाँहरूको आँसु पुछ्ने इमानदार प्रयास त हामीले गर्नैपर्छ । सुरक्षित ओत, पेटभरि खाना, उपचार, बालबालिकाको पढाइ र जीवन पुनः उठाउने आधार दिएर राज्य सुख-दुःखमा सधैं साथमा छ भन्ने अनुभूति दिलाउनैपर्छ ।’
दुःखमा एकअर्काको सहारा बन्नु हाम्रो नेपाली संस्कार हो। यसपालि आफ्नो घरमा दीप बाल्दा विपद्ले अँध्यारो बनाएका घरहरूलाई पनि सम्झौं । हाम्रो खुसीको केही अंश उहाँहरूको सहारा बनोस् । हाम्रो चाडको उज्यालो विपद्ले उजाडिएका परिवारको ढोकासम्म पुग्न सकोस् ।
अन्ततः सबै गुमाएका नागरिकले यति भन्न सकून्- ‘विपद्ले मेरो घर बगायो, मेरा प्रियजन खोस्योस तर मेरो देश र राज्यले मलाई एक्लो हुन दिएन ।’
यस्तो छ पूर्णपाठ




प्रतिक्रिया