काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले नेपाली रुपैयाँको आफ्नै आधिकारिक मुद्रा चिह्न बनाउन माग गरेका छन्।
आचार्यले नेपाली रुपैयाँको आफ्नै आधिकारिक मुद्रा चिह्न बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै आचार्यले डलर, पाउन्ड, युरो, येन, चिनियाँ युआन र भारतीय रुपैयाँजस्ता प्रमुख मुद्राको आफ्नै आधिकारिक चिह्न भए पनि नेपाली रुपैयाँ अझै ‘रु’ र ‘एनपीआर’ जस्ता सामान्य संक्षिप्त रूपमै सीमित रहेको बताए।
उनले डिजिटल अर्थतन्त्र र फिनटेकको युगमा नेपाली मुद्रालाई अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्न आफ्नै युनिकोड चिह्न आवश्यक रहेको बताए।
‘एउटा यस्तो चिह्न, जसले देवनागरी लिपिको मौलिकता र हाम्रो सार्वभौम राष्ट्रिय पहिचानलाई एकैसाथ प्रतिविम्बित गरोस्,’ उनले भने।
आचार्यले खुला प्रतिस्पर्धामार्फत सर्वोत्कृष्ट डिजाइन छनोट गरी नेपाली रुपैयाँलाई नयाँ, आधुनिक र मौलिक मुद्रा चिह्न प्रदान गर्न नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराए।
बैठकमा आफ्नो भनाइ राख्ने क्रममा उनले आफू ‘औसत क्षमताको इन्जिनियरु भए पनि क्षमता, नियत र तथ्यमा अब्बल व्यक्तिहरू आफूलाई ‘एक्स्ट्राअर्डिनरी’ लाग्ने भन्दै आफू पनि ‘एक्स्ट्राअर्डिनरी’ बन्ने इमानदार प्रयास गरिरहेको बताएका थिए। त्यसपछि उनले आजको प्रयास देशको मुद्रासम्बन्धी रहेको उल्लेख गरेका थिए।




प्रतिक्रिया