काठमाण्डु- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान भएर कांग्रेस एक हुने सम्भावना नरहेको बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर सभापति गगनकुमार थापा नेतृत्वको संस्थापन पक्ष र पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको इतर पक्षले फरक–फरक तयारी गरिरहेका बेला मध्यमार्गमा रहेका कोइरालाको यस्तो धारणा आएको हो।
बिहीबार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै कोइरालाले आफूले अझै पनि कांग्रेस एकताका लागि पहल गरिरहेको बताए। उनले आफू कुनै पक्षमा खुलेको भन्ने प्रचार गलत भएको पनि स्पष्ट पारे। कोइरालाले आफू गगन र देउवा दुवै पक्षमा नरहेको पनि बताएका छन्।
‘बाहिर अनेक तरिकाले अफवाह फैलिरहेको छ। मैले सम्पर्कमा आएका नेताहरूलाई आफ्नो विवेक प्रयोग गर्नुस् मात्रै भनेको हुँ। कुनै पक्षमा खुल्नु भनेको छैन,’ उनले भने।
कोइरालाले अहिलेको अवस्थामा कांग्रेसलाई एक बनाउने सम्भावना नरहेको भन्दै दुवै पक्षलाई आ–आफ्नो महाधिवेशन सम्पन्न गर्न दिनुपर्ने धारणा राखे।
‘म आज पनि कांग्रेस एकताका लागि पहल गरिरहेको छु। अहिले नै कांग्रेस एक हुने सम्भावना छैन। दुवैको महाधिवेशन सक्न दिनुहोस्, त्यसपछि कुरो हुन्छ,’ उनले भने।
कांग्रेसभित्र संस्थापन पक्षले असोजमै १५औँ महाधिवेशन सम्पन्न गर्ने तयारी गरिरहेको छ भने देउवा पक्षले मंसिरमा महाधिवेशन गर्ने तयारी अघि बढाएको छ।
दुई पक्षले फरक–फरक समयसीमा र प्रक्रियाअनुसार महाधिवेशनको तयारी अघि बढाएपछि पार्टी विभाजनको सम्भावनाबारे कांग्रेसभित्र चर्चा तीव्र भएको छ।
यस्तो अवस्थामा लामो समयदेखि पार्टीका दुई धारबीच समन्वयको प्रयास गर्दै आएका कोइराला दुवै पक्षबीचको दूरी तत्काल घट्ने अवस्था नरहेको निष्कर्षमा पुगेका हुन्। तर आफूनिकटलाई देउवाको महाधिवेशनमा जोडिन भनेको समाचार आइरहेका कोइरालाले त्यसलाई अस्वीकार गरेका हुन्।




प्रतिक्रिया