काठमाण्डु- प्रतिपक्षी नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले संयुक्त राष्ट्रसङ्घको महासभामा जलवायु परिवर्तन र हिमालयन सुनामीबारे राष्ट्रिय एजेन्डा राखेकामा प्रधानमन्त्री वालेन्द्र शाहप्रति आभार व्यक्त गरेका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद दुलालले राष्ट्रसङ्घीय मञ्चमा हिमालमा जलवायु परिवर्तनको असर, भोटेकोशी र त्रिशूलीमा आएको बाढी-पहिरो तथा अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोगबारे उठाइएका विषय सकारात्मक रहेको बताए । तर, महासभामा जानुअघि र फर्केपछि संसद्लाई जानकारी नगराएर प्रधानमन्त्रीले संसद्को अपमान गरेको भन्दै उनले खेद जनाए।
चाडपर्व नजिकिँदै गर्दा देशमा शोकको वातावरण रहेको उल्लेख गर्दै सांसद दुलालले भोटेकोशी बाढी र अन्य प्राकृतिक विपत्तिमा परि सयौँ नेपालीले ज्यान गुमाएको र हजारौँ नागरिक अझै बेपत्ता रहेको बताए।
‘हामीले बेपत्ता नागरिकलाई मृत स्वीकार गरिसकेका छौँ, उनीहरूलाई मृतक सरह कानुनबमोजिम राहत तथा कानूनी हैसियत प्रदान गर्न सरकारले किन ढिलाइ गरिरहेको छ?’, उनले प्रश्न गरे।
यसका साथै, उनले बाढीका कारण छाना गुमाएकालाई बसोबास, अभिभावक गुमाएका बालबालिकालाई शिक्षा र राहत सामग्री गोदाममै कुहिएर बस्ने वा राहत कोषमै रकम रोकिने अवस्था अन्त्य गर्न सरकारसँग मागरे ।
दुलालले सुशासन र भ्रष्टाचार नियन्त्रणको विषयमा बोल्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री छँदा सुशासनको महाअभियान सुरु गरिएको दाबी गरे।
‘दुनियँलाई थाहा छ, भ्रष्टाचारका ठूला-ठूला फाइलहरू खोलेपछि र ठूला भनिएका मानिसहरू समातिन थालेपछि कमरेड प्रचण्ड नेतृत्वको सरकार ढालिएको हो,’ दुलालले भने। उनले वर्तमान सरकारलाई पनि भ्रष्टाचारका बलिया आधार भएका फाइलहरू खोलेर कारबाही अगाडि बढाउन चुनौती दिए।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका व्यापारिक साझेदार जीबी राई सहकारी ठगीपछि विदेश भागेको प्रसङ्ग उल्लेख गर्दै दुलालले उनलाई यथाशीघ्र पक्राउ गरी स्वदेश ल्याउन सरकारसँग माग गरे।
प्रधानमन्त्रीले सांसदहरूलाई ‘एक्स्ट्रा अर्डिनरी, एभरेज र बिलो एभरेज’ भनी वर्गीकरण गरेको विषयमा पनि दुलालले कडा व्यङ्ग्य गरे। ‘प्रधानमन्त्री स्वयंलाई निर्देशन दिने उहाँको पार्टी सभापति एभरेज हुनुहुन्छ कि बिलो एभरेज ? यो पनि अर्को ठट्टा मात्र हो?’
चाडपर्वको मुखमा रसुवा, कोरला र तातोपानी नाकाहरू बन्द हुँदा बजारमा महङ्गी बढेको र व्यापारीहरूका करोडौँ मूल्यका सामान सीमामै अड्किएको भन्दै उनले चिन्ता जनाए । तातोपानी नाका सञ्चालनका लागि सरकारले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने उनले बताए ।
दुलालले सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, विकास र पुनर्निर्माणमा सही कदम चाले समर्थन गर्ने तर संविधानविरोधी गतिविधि र नागरिकमाथि ढाँटछल गरे सशक्त प्रतिवाद गर्ने चेतावनी दिए।




प्रतिक्रिया