काठमाण्डु– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी, काठमाण्डुका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध आरोपपत्र दायर गरेको छ ।
पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
श्रेष्ठको २०५३ साउन २७ गतेदेखि २०८१ चैत २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी उनी तथा उनको एकासगोल परिवारका सदस्यहरूको आय–व्यय अनुसन्धान गरिएको थियो।
अनुसन्धानबाट उक्त अवधिमा श्रेष्ठ तथा उनका परिवारका सदस्यहरूले विभिन्न वैधानिक स्रोतबाट ७ करोड ७५ लाख ७८ हजार ८४० रुपैयाँ ८७ पैसा आय आर्जन गरेको देखिएको आयोगले जनाएको छ।
तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण, शेयर तथा सवारी साधन खरिद, छोरीहरूको अध्ययन खर्च, कर्मचारी सञ्चय कोष तथा व्यक्तिगत ऋण–सापटी भुक्तानी र बैंक खातामा रहेको मौज्दातसमेत गरी १२ करोड ५० लाख २५ हजार ६५४ रुपैयाँ ३६ पैसा खर्च तथा लगानी गरेको पाइएको आयोगको भनाइ छ।
आयभन्दा खर्च तथा लगानी ४ करोड ७४ लाख ४६ हजार ८१३ रुपैयाँ ४९ पैसा बढी देखिएको आयोगले जनाएको छ। उक्त रकमको स्रोत पुष्टि हुन नसकेको भन्दै आयोगले श्रेष्ठले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालेको हो।
आयोगका अनुसार श्रेष्ठले पेस गरेको सम्पत्ति विवरणसमेत अमिल्दो तथा अस्वाभाविक देखिएको छ। आयोगले श्रेष्ठ र उनकी श्रीमती कमला श्रेष्ठविरुद्ध ४ करोड ७४ लाख ४६ हजार मागदाबी गर्दै आज विशेष अदालत, काठमाण्डुमा आरोपपत्र दायर गरेको हो।




प्रतिक्रिया