काठमाण्डु– हिमलुङ हिमपहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारका क्रममा आज थप ४ वटा शव फेला परेका छन्। यससँगै हिमलुङ हिमपहिरो क्षेत्रमा फेला परेका शवको संख्या १५ पुगेको छ।
उद्धार टोलीका प्रमुख तथा आईएफएमजीए माउन्टेन गाइड पासाङ काजी शेर्पाका अनुसार अत्यन्त कठिन र चुनौतीपूर्ण परिस्थितिका बाबजुद खोज तथा उद्धार कार्य जारी छ।
नेपाल राष्ट्रिय पर्वतारोहण गाइड संघको खोज तथा उद्धार टोलीले हिमालयन होलिडेज, सेभेन समिट ट्रेक्स तथा स्थानीय गाइडहरूसँगको समन्वयमा उद्धार अभियान सञ्चालन गरिरहेको छ।
उद्धार अभियानमा अनुभवी माउन्टेन गाइड तथा स्थानीय उद्धारकर्मीसहित ११ जना संलग्न छन्। टोलीको नेतृत्व पासाङ काजी शेर्पाले गरिरहेका छन् भने विक्रम कार्की, दावा जाङ्बु शेर्पा, निगिमा ताशी शेर्पा, बलराम गोम्बु, काजी शेर्पा, दावा नुर्बु शेर्पा, दावा साङ्गे शेर्पा, तार्के शेर्पा र दावा तेन्जी शेर्पालगायत उद्धारमा खटिएका छन्।
यसअघि बुधबार तीन जना, आइतबार र सोमबार ४ जनाको शव भेटिएको थियो।
असोज ११ गते मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको थियो। हिमपहिरोमा १६ जना हराएका थिए भने ११ जना दोस्रो दिन सम्पर्कमा आएका थिए।
संघले घटनासम्बन्धी थप पुष्टि भएका विवरण पछि सार्वजनिक गर्ने जनाएको छ। हिमलुङ हिमपहिरो घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा उनीहरूका परिवार र प्रभावित सबैप्रति उद्धार टोलीले समवेदना व्यक्त गरेको छ।




प्रतिक्रिया