काठमाण्डु- नेपाली कांग्रेसले पार्टीको हितविपरीत जाने नेता-कार्यकर्ताहरूलाई कारबाही गर्ने भएको छ।
१५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भइसकेपछि पनि पार्टीको हितविपरीत गतिविधिमा संलग्न हुने नेता तथा कार्यकर्तामाथि केन्द्रीय अनुशासन समितिले कारबाही गर्ने चेतावनी दिएको छ।
खासगरी अनुशासन समितिले यो कारबाही चेतावनी पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको इतर पक्षलाई लक्षित गरी दिएको हो । कांग्रेस महाधिवेशनका लागि धमाधम प्रतिनिधि चयन गरिरहँदा देउवा पक्षले वडा अधिवेशनलाई अघि बढाउँदैछ।
कांग्रेस केन्द्रीय अनुशासन समितिका कार्यवाहक संयोजक रमेश धमलाले पार्टीको नीति, मर्यादा र अनुशासनविपरीतका अवाञ्छित गतिविधिमा संलग्न नहुन सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
समितिले पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहेका पदाधिकारीदेखि निर्वाचनबाट निर्वाचित प्रतिनिधि तथा साधारण क्रियाशील सदस्यसम्म कसैलाई पनि पार्टीको हित प्रतिकूल हुने गतिविधिमा संलग्न नहुन सचेत गराएको हो।
१५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भइसकेपछि पनि कतिपय व्यक्ति कांग्रेसकै नाममा पार्टीविरोधी गतिविधिमा संलग्न भएको सूचना प्राप्त भएको समितिले जनाएको छ। यस्ता गतिविधिलाई समितिले गम्भीरतापूर्वक निगरानी गरिरहेको धमलाले बताएका छन्।
‘पार्टीको मर्यादा र नीति विपरीतका गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गर्दछौँ। अन्यथा समितिले तत्काल आवश्यक कडा कारबाहीको प्रक्रिया अगाडि बढाउन बाध्य हुनेछ,’ धमलाले भने।
समितिले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई अनुशासनमा रहेर महाधिवेशनको निर्वाचन प्रक्रिया सम्पन्न गर्नसमेत आग्रह गरेको छ।
वडा, पालिका र क्षेत्रीय तहका निर्वाचन प्रक्रियामा उत्साहजनक सहभागिता जनाएकोमा समितिले कांग्रेसका नेता तथा कार्यकर्ताप्रति आभार जनाएको छ।




प्रतिक्रिया