सीमा अपराध नियन्त्रणमा निर्मम ढंगले लाग्न सशस्त्र आईजीपी पौडेलको निर्देशन

सीमा अपराध नियन्त्रणमा निर्मम ढंगले लाग्न सशस्त्र आईजीपी पौडेलको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले मधेश प्रदेशस्थित सीमा नाकाहरूको अनुगमन गर्दै तैनाथ सशस्त्र प्रहरी कर्मचारीहरूलाई सीमा अपराध नियन्त्रणमा निर्मम ढंगले लाग्न निर्देशन दिएका छन् ।

बिहीबार मधेश प्रदेशस्थित नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी लगायत मातहत गण, गुल्म तथा बोर्डर आउट पोष्ट र सुरक्षा बेसमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

अनुगमनका क्रममा आईजीपी पौडेलले सम्बन्धित सरोकारवाला निकाय तथा सीमावर्ती स्थानीय बासिन्दासँग सीमा सुरक्षा एवं समसामयिक विषयमा हाल भइरहेका कामकारबाहीबारे जानकारी लिनुका साथै कार्यरत कमाण्डरहरूलाई सीमा क्षेत्रमा हुने अवैध गतिविधिको प्रभावकारी निगरानी, नियन्त्रण तथा रोकथामलाई थप सुदृढ गर्दै उच्च सतर्कता, समन्वय र जिम्मेवारीका साथ कार्यसम्पादन गर्न निर्देशन दिए ।

सीमा ईलाकामा हुने अवैध क्रियाकलाप रोकथाम र नियन्त्रणका लागि समयमा नै योजना बनाई सीमा अपराध तथा राजस्व चुहावट नियन्त्रण कार्यमा प्रभावकारी रूपमा परिचालित भई नतिजामुखी काम गर्न उनले निर्देशन दिए ।

आईजीपी पौडेलले सीमा क्षेत्रमा सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमको समेत प्रभावकारी रूपमा सञ्चालन गर्दै लानुपर्ने बताउँदै सीमामा बसोवास गर्ने स्थानीय बासिन्दाहरूसँग सुमधुर सम्बन्ध राख्दै सीमा वारपार गर्ने आम नागरिकहरूको सहजताका लागि समेत ध्यानमा राखी कार्य गर्नुपर्ने बताए ।

उनले वर्षातको समयलाई मध्यनजर गर्दै बाढी तथा डुवान जस्ता विपद्जन्य घटनामा तत्काल परिचालन हुनसक्ने गरी विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिहरूलाई आवश्यक उद्धार सामग्रीसहित तयारी हालतमा रहन समेत निर्देशन दिए ।

आईजीपी पौडेलले धनुषा जिल्लाको सीमा ईलाकामा पर्ने जटही नाकाको समेत निरीक्षण भ्रमण गर्दै स्थानीय बासिन्दासँग भेटघाट गर्नुकासाथै सीमा अवस्था तथा शान्ति सुरक्षा लगायतका विषयमा जानकारी समेत लिएका थिए ।