प्रधानमन्त्री बालेनको टीम : कुमार बेनसहित दुईजना सल्लाहकारको हैसियत मन्त्रीसरह

प्रधानमन्त्री बालेनको टीम : कुमार बेनसहित दुईजना सल्लाहकारको हैसियत मन्त्रीसरह

२७ मध्ये कसलाई के भूमिका ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार तथा स्वकीय सचिवालयमा कार्यरत पदाधिकारी र कर्मचारीको विवरण सार्वजनिक गरेको छ।

कार्यालयले आफ्नो आधिकारिक वेबसाइटमा ‘सम्माननीय प्रमज्यूको सल्लाहकार तथा अन्य पदमा नियुक्त पदाधिकारीहरू’शीर्षकमा प्रधानमन्त्री शाहका सल्लाहकार तथा स्वकीय सचिवालयका पदाधिकारीको विवरण राखेको हो।

प्रधानमन्त्री शाहको सचिवालयमा मुख्य सल्लाहकारका रूपमा कुमार बेञ्जनकार (कुमार बेन) र राजनीतिक सल्लाहकारका रूपमा असीम शाह नियुक्त छन्। उनीहरूलाई मन्त्रिपरिषद्को पहिलो बैठकबाट क्रमशः मुख्य तथा राजनीतिक सल्लाहकारमा नियुक्त गरिएको थियो। दुवैजनालाई मन्त्रीसरहको सुविधा दिइएको छ। तर कुमार बेनलाई अवैतनिक सल्लाहकारका रुपमा उल्लेख गरिएको छ।

प्रधानमन्त्री कार्यालयले यसअघि प्रतिनिधिसभामा दिएको लिखित जवाफअनुसार शाहको स्वकीय सचिवालयमा ४८ जनाको दरबन्दी रहेकामा हाल २७ जना नियुक्त छन्।

सल्लाहकारतर्फ दुई जनालाई मन्त्रीसरह तथा दुई जनालाई राज्यमन्त्रीसरहको सुविधा दिने व्यवस्था गरिएको कार्यालयले जनाएको थियो।

सार्वजनिक विवरणअनुसार प्रधानमन्त्रीका सल्लाहकारमा ऊर्जा सल्लाहकार विवेकराज कँडेल, नीति सल्लाहकार रमेश पौड्याल, निजी क्षेत्र सल्लाहकार गणेश कार्की, योजना तथा लगानी सल्लाहकार आशुतोष तिवारी र प्रशासनिक सल्लाहकार अनिल अधिकारी रहेका छन्। यीमध्ये प्रशासनिक सल्लाहकार अधिकारीलाई सचिवसरहको सुविधा दिने गरी नियुक्त गरिएको विवरण सार्वजनिक भएको छ।

यसैगरी, अवैतनिक स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई मन्त्री सरहको सेवा सुविधा दिइएको छ। नीति, प्रशासन तथा सुशासन सल्लाहकारमा यसैगरी सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रलाई राज्यमन्त्रीसरह सुविधा दिइएको छ।

सचिवालयको नेतृत्व प्रमुख स्वकीय सचिव (रा.प. विशिष्ट सरह) सुवास शर्माले गरेका छन्। यस्तै, स्वकीय सचिवमा नविन भण्डारी (रा.प. प्रथम सरह) रहेका छन्। सहसचिव (रा.प. प्रथम) सरह पदहरूमा सञ्जीव पाण्डे (विकास परियोजना), दीपा दाहाल (प्रेस तथा अनुसन्धान विज्ञ), सन्तोष गिरी (कार्यक्रम तथा भ्रमण संयोजक), र विश्व राई (विज्ञ-सामाजिक विकास) छन्।

उपसचिव (रा.प. द्वितीय) सरहको जिम्मेवारी प्रकृति ढकाल, विशाल अधिकारी र विनय शाक्यलाई दिइएको छ । सहायक विज्ञका रूपमा सुमन गौतम (नागरिक उड्डयन) र रविकिरण अधिकारी (भाषा तथा मस्यौदा) नियुक्त भएका छन्।

त्यस्तै, शाखा अधिकृत तथा अन्य प्राविधिक तथा प्रशासनिक तह (रा.प. तृतीय र अनंकित) मा सुरेन्द्र बजगाईं (प्रेस सहजकर्ता), रोशन तामाङ (ग्राफिक्स डिजाइन), बेदानन्द जोशी, हेम नारायणदास चौधरी (अनुसन्धान अधिकृत), अनुप थापा मगर, ऋषि थापा, अमृत पाण्डे (भिडियोग्राफर), राजकुमार गौतम र बेनिस कार्की कार्यरत छन्।

त्यस्तै, स्वकीय सचिवालयतर्फ प्रमुख स्वकीय सचिव सञ्जीव महर्जन, स्वकीय अधिकृतहरू श्रीश पाण्डे र समृद्धि मल्ल, प्रशासन सहायकमा केयुरमान सिंह र निगमराज शर्मा, हलुका सवारी चालकमा सविन महर्जन र कृतिमान महर्जन तथा कार्यालय सहयोगीमा जिनत शेख रहेको विवरण सार्वजनिक भएको छ।

प्रधानमन्त्रीको सचिवालयमा सल्लाहकारबाहेक प्रमुख स्वकीय सचिव, स्वकीय सचिव, समन्वय तथा अनुगमन अधिकृत, सञ्चार तथा जनसम्पर्क सहायक, प्रशासनिक कर्मचारी, चालक र कार्यालय सहयोगीलगायतका पद रहने व्यवस्था छ।

प्रधानमन्त्री कार्यालयका अनुसार सचिवालयको संरचना ‘प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४’ अनुसार कायम गरिएको हो।

प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त भएको तथ्य यसअघि नै सार्वजनिक भए पनि उनीहरूको नाम सार्वजनिक नगरिएको भन्दै प्रश्न उठेको थियो। यसअघि सञ्चारकर्मीहरूले सूचनाको हकअन्तर्गत विवरण माग्दा प्रधानमन्त्री कार्यालयले ४८ जनाको दरबन्दीमध्ये २७ जना नियुक्त भएको जानकारी दिएको थियो।

यसैबीच, पछिल्लो विवरणअनुसार प्रधानमन्त्री र १६ मन्त्रीका सचिवालयमा गरी १२८ जना सल्लाहकार तथा स्वकीय पदाधिकारी नियुक्त रहेको विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री शाहको सचिवालयमा मात्रै २७ जना कार्यरत रहेको उक्त विवरणमा उल्लेख छ।